काठमाडौँ। इजिप्टमा सन् २०२५ मा भएका सडक दुर्घटनामा ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।
इजिप्टको केन्द्रिय परिचालन तथा तथ्यांक निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले बढी हो ।
निकायद्वारा जारी प्रेस विज्ञप्तिकाअनुसार कायरो प्रान्तमा सबैभन्दा बढी ७ सय ७९ जनाको मृत्यु भएको छ । यसैगरी, सन् २०२५ मा देशभर भएका सडक दुर्घटनामा परी कुल ८४ हजार ५ सय ५३ जना घाइते भएका छन् ।
घाइतेको यो संख्या अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले बढी हो । इजिप्टमा मुख्यतया तिब्र गति, ट्राफिक नियमको उल्लंघन र सडकको कमजोर मर्मतसम्भारका कारण हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
सवारी चाप कम गर्न र दुर्घटना न्युनिकरणका लागि इजिप्ट सरकारले हाल सडक सञ्जालको स्तरोन्नति गरिरहेको छ सिन्ह्वा/ न्युज एजेन्सी नेपाल












