काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण (सब्स्क्रिप्सन) हुने नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि प्रत्येक महिना मोबाइल ब्यालेन्स पर्याप्त भएमा सोही प्याकेज स्वतः नवीकरण हुनेछ। यसका लागि प्रत्येक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्ने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले ३० दिनको अवधिका तीनवटा प्याकेज उपलब्ध गराएको छ। २९९ रुपैयाँको ‘नमस्ते रिकरिड २९९’ प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा आफ्नै नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस समावेश छन्।
त्यस्तै, ४९९ रुपैयाँको ‘नमस्ते रिकरिड ४९९’ प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, ८ जीबी नियमित डाटा, ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन्।
यस्तै, ७९९ रुपैयाँको ‘नमस्ते रिकरिड ७९९’ प्याकमा सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक ३०० जीबी डाटा तथा ३०० वटा सबै नेटवर्कमा पठाउन मिल्ने एसएमएस सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यी सब्स्क्रिप्सन प्याकेज प्रयोगकर्ताका लागि आवश्यकताअनुसार अतिरिक्त (एड-अन) डाटा प्याक पनि उपलब्ध गराएको छ। ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी तथा ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकले *1415# डायल गरी प्राप्त निर्देशनअनुसार यी प्याकेजहरू सक्रिय गर्न सक्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्।










