काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले संघीय संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
आईतवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रेग्मीले संसद्मा एउटै विषयलाई लिएर बारम्बार गरिने आलोचना र ‘गनगन’ ले ठोस नतिजा नदिने उल्लेख गर्नुभयो । रेग्मीले संसदलाई विज्ञहरूको राय र गहन छलफलका आधारमा नीति निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
स्याङ्जाबाट निर्वाचित सांसद रेग्मीले आफ्नो निर्वाचन क्षेत्रको मुख्य उत्पादन सुन्तलालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पहल शुरु गरेको जानकारी दिनुभयो । उहाँले विशेषगरी मध्यपूर्वका देशहरूलाई ठूलो बजारका रूपमा पहिचान गरी त्यहाँका राजदूत र व्यवसायीहरूसँग समन्वय गरिरहेको बताउनु भयो । आगामी नोभेम्बर–डिसेम्बरदेखि नै गुणस्तर मापन र ग्रेडिङ गरी नेपाली सुन्तला विदेश निर्यात गर्ने योजना रहेको उहाँको भनाइ छ ।
आफ्नो क्षेत्रको विकासका बारेमा बोल्दै डा. रेग्मीले स्याङ्जाका दलित बस्ती र पेलकाचौर जस्ता स्थानमा रहेको खानेपानीको चरम अभावप्रति चिन्ता व्यक्त गर्नुभयो । निर्वाचनका समयमा नागरिकसँग गरेको प्रतिवद्धताअनुसार बजेटमा खानेपानीका योजनाहरू नपर्नु दुःखद् भएको उहाँले बताउनु भयो ।











