१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’



अ+ अ-

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गर्नुभएको छ । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहनुभएको छ ।

त्यसयता उहाँ सार्वजनिक रूपमा निकै कम देखिनुभएको छ । गत जनवरीमा भने उहाँले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो ।

भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गर्नुभयो । उहाँले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताउनुभयो ।

“मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए । तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ”, उहाँले भन्नुभयो ।

स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा हसिनाले भन्नुभयो, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कनेछु ।”

गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ ।

उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबीच मतभेद कायमै छ । बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्‍याउँदै आएको छ ।