१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान



अ+ अ-

टोकियो। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ ।

जापानका अर्थमन्त्रीले मङ्गलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताउनुभएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँले आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने सङ्केत दिनुभएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापानबीचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाब पर्दै आएको छ ।

गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर १६१ दशमलव ९६ येन पुगेपछि जापानी मुद्रा सन् १९८६ यताकै कमजोरस्तरमा पुगेको थियो । मङ्गलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर १६२ दशमलव ४० येनसम्म पुगेपछि केही सुधार भई १६२ दशमलव १७ येनमा कारोबार भएको थियो ।

बजारलाई सन्देश दिन जापान सरकारले गत महिना ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने सङ्केतका रूपमा हेरिएको छ ।

कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ । विशेषगरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ । यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ ।

यद्यपि कमजोर येनका कारण जापान विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ, जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ ।

यसै महिना जापानको केन्द्रीय बैंकले ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा पु¥याए पनि अमेरिकी सङ्घीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ । यसले दुई देशबीचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाब तत्काल कम नहुने विश्लेषण गरिएको छ ।

यसैबीच, जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे २८ देखि जुन २६ सम्मको अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन । रासस