१९ असार २०८३, शुक्रबार
,
Latest
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक



अ+ अ-

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानीलाई तीव्रता दिएको जनाएको छ। बोर्डले चालु आर्थिक वर्षमा हालसम्म कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिएको हो।

बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक गरिएको छ। मंसिरपछि प्राप्त दाबीको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको प्रमुख आधारका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम सीमित स्रोतसाधन र संरचनागत चुनौतीबीच पनि दैनिक हजारौं बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ। साथै, उपचारका क्रममा नागरिकले आफ्नै गोजीबाट व्यहोर्नुपर्ने खर्च घटाई वित्तीय जोखिमबाट संरक्षण गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

यद्यपि, स्वास्थ्य बीमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा केही समय सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी ढिलो भएको र त्यसबाट अस्पताल तथा बीमित सेवाग्राही दुवै प्रभावित भएको अवस्थाप्रति बोर्ड जानकार रहेको विज्ञप्तिमा उल्लेख छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितहरूको उपचार सेवामा कुनै अवरोध सिर्जना नगरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी, बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि बोर्डले अनुरोध गरेको छ। यसबाट स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबैको सहयोग आवश्यक रहेको बोर्डको भनाइ छ।