१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन



अ+ अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुनेगरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।

गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुहुँदै उहाँले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताउनुभयो ।

संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले कसैको आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्नसमेत निर्देशन दिनुभयो । त्यस्तै जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गर्नुभयो ।

यसअघि २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, मोरङका ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको छ ।

नवनियुक्त महाप्रबन्धक रावलले सरकारले लिएको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताउनुभयो ।

त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुङ्गानाले विगतका वर्षहरूमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएकाले नैतिकता, व्यावसायिकता, सुशासन तथा निरन्तर सुधारलाई प्राथमिकतामा राखेर संस्थाको क्षमता अभिवृद्धि गरिने बताउनुभयो ।

साथै संस्थाको वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता थप मजबुत बनाइने उहाँको भनाइ थियो । रासस