काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई जेन–जी आन्दोलनको समयमा भूराजनीतिक संघर्षले निरिह बनाएको टिप्पणी गर्नुभएको छ ।
आईतवार पार्टीको उपत्यका समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेन–जी आन्दोलनको बेला आफूहरुलाई पार्टीको नेता, कार्यकर्ताले नबचाएको गुनासो गर्नुभएको हो ।
संयोजक दाहालले तत्कालीन अवस्थामा प्रक्रियावादीहरुले चाहेको भए आफूलाई समाप्त पार्ने अवस्था रहेको पनि बताउनु भयो । उहाँले जेन–जी आन्दोलनमा विध्वंश मच्चाउनेहरुले नै फेरि आफूहरुलाई बोलाएर राजनीतिक निकासका लागि परामर्श गरेको र त्यो अनौठो किसिमको रहेको अनुभूति पनि सुनाउनु भयो ।
संयोजक दाहालले भन्नुभयो,‘अहिले हामी कहाँ चुक्यौ त ? २३, २४ भयो । हामी निरिह जस्तो के कारणले भयौँ ? अहिले हामी २३, २४ गते केही पनि नभएजस्तो नेताहरु तपाईहरुले हेर्नुभयो भने छन कि छैनन जस्तो भयो नि । २४, २५ र २६ सम्म त हाम्रा नेताहरु जीवित पो छैनन् कि जस्तो, कहाँ छन् जस्तो गिरफतार भएका हुन् कि वा मारिएका पो हुन् कि जस्तो स्थिति थियो, सम्झिनुभएको छ ? मैले भन्ने गर्छु कहिले काँही बचियो कसरी ? हामीलाई हाम्रो नेता, कार्यकर्ताले हाम्रा नेता कहाँ छन् भनेर बचाएको होइन । बचाउन सक्ने स्थिति पनि थिएन । हाम्रा लडाकुहरु, युवाहरु गएर बचाएको पनि होइन । हामीलाई निरिह पनि विश्वभरीको भूराजनीतिक संघर्षले बनाएछ । हामी बच्न पनि भूराजनीतिको घर्षण भूराजनीतिका शक्ति केन्द्रहरुको एकता र संघर्षले गर्दा हामी बचिएछ । तपाईहरुले यसलाई यसरी हेर्नुभएको छ कि छैन ? थाहा छैन । नत्र हामी त किचिक्क पारेर मिचिने ठाउँमा थियौ नि हामी त । प्रतिक्रियावादीले चाहेको भए त एकै छिनमा सिद्धिने ठाउँमा थियौ नि हामी त । तर हामी बचियो फेरि । २६ गते त फेरि तिनै २४ गते विध्वंश गर्नेहरुले नै मलाई र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएर लौ के गर्ने होला भन्ने ठाउँमा पु¥यायो २६ गते रातमा । यो पनि बडो अनौठो । हामीले त सोचेको पनि थिएनौ कि हामीलाई बोलाउलान् प्रधानसेनापतिले, राष्ट्रपतिले । हाम्रो सुझाव लिनेछन् भन्ने सोचेका पनि थिएनौँ, तर भयो ।’
संयोजक दाहालले आफूहरुले मुलुकमा ठूल्ठूला परिवर्तन गरेको जिकिर गर्दै आगामी दिनमा पनि गल्ती स्वीकार गर्दै अघि बढ्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल












