२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षाअनुसार वर्षा हुन नसकेको बताउनुभयो । “हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ”, उहाँले भन्नुभयो, “पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ । अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ ।”

अर्यालले हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ । विशेषगरी पहाडी भूभागमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । विभागले आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीका तराईमा हुरीबतासको जोखिम रहेको जनाएको छ ।

विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुनसक्ने स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मधेस तथा लुम्बिनी प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने विभागले जनाएको छ ।

आज राति देशका हिमाली भूभागका धेरै स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान, मधेस प्रदेशका धेरै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आगामी केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन, नदी तथा खोलामा आउने आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।