काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विरोधमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी भएका छन्। विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि केहीबेर बैठकको वातावरण तनावपूर्ण बनेको थियो।
विरोधका बीच सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारलाई आफ्नो धारणा राख्न समय प्रदान गरेका छन्।
विपक्षी दलहरूले विरोध गर्नुको कारणबारे बैठकमा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।












