काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा बालबालिकाको भरणपोषण तथा शिक्षाका लागि प्राप्त रकम हिनामिना गरेको आरोपमा पूर्व पदाधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उच्चस्तरीय जाँचबुझ समिति–२०७७ को प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। उनीहरू विगतमा नेपाल बाल सङ्गठनको कार्यसमिति तथा सचिवालयमा आबद्ध थिए।
अनुसन्धानबाट नक्सालस्थित बाल सङ्गठनको जग्गा मासिक ९ लाख रुपैयाँ भाडा निर्धारण गर्दै वृहस्पति विद्या सदनलाई ७९ वर्षका लागि भाडामा दिने सम्झौता गरिएको खुलेको थियो। उक्त सम्झौताबाट संस्थालाई आर्थिक नोक्सानी पुगेको निष्कर्षसहित बाल सङ्गठन सञ्चालक समितिले पुरानो सम्झौता खारेज गर्ने निर्णयसमेत गरिसकेको छ।












