२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि तथा वन मन्त्रालयको १०० दिने उपलब्धिः कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र उखु किसानको भुक्तानी



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव डा. राजेन्द्रप्रसाद मिश्रले आफ्नो कार्यकालको १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभएको हो । मन्त्रालयकाअनुसार वन तथा जलवायु वित्तका क्षेत्रमा नेपालले ठूलो उपलब्धि हासिल गरेको छ । सचिव मिश्रले कार्बन व्यापारमार्फत १ अर्ब १० करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन भएको र उक्त रकम वितरण गरिसकिएको जानकारी दिनुभयो ।

यसलाई मन्त्रालयले वन क्षेत्रको व्यवस्थापन र संरक्षणमा प्राप्त भएको ऐतिहासिक सफलताका रूपमा लिएको छ । लामो समयदेखि थाती रहेको उखु किसानको १ अर्ब ५१ करोड रुपैयाँ अनुदान यस वर्ष अर्थ मन्त्रालयको समन्वयमा सफलपूर्वक भुक्तानी गरिएको सचिव मिश्रले बताउनु भयो । बर्दियाको केही क्षेत्रमा प्राविधिक प्रक्रियाका कारण रोकिएको सानो परिमाणको रकम आगामी साउन र भदौभित्र उपलब्ध गराइने मन्त्रालयको तयारी छ ।

यस्तै, कृषि बिमा प्रिमियमको अनुदान भुक्तानीमा हुने ‘क्यारी ओभर’को समस्या समाधान गर्दै मन्त्रालयले यस वर्षको वैशाखसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेको छ । यसबाट बीमा प्रणालीमा किसानको पहुँच र विश्वास बढ्ने अपेक्षा गरिएको छ । विकास आयोजनाहरूलाई सहज बनाउन मन्त्रालयले पछिल्लो १०० दिनमा २७५ हेक्टर वन क्षेत्र उपलब्ध गराएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई छिटो छरितो बनाउन विशेष कार्यदल (डेडिकेटेड टिम) गठन गरिएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि राहत स्वरूप साढे ५ करोड रुपैयाँ छुट्याइएकोमा ४ करोड २७ लाख रुपैयाँ वितरण भइसकेको र बाँकी रकम तत्काल निकासा हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा अनलाइन अनुमति प्रणाली कार्यान्वयनमा ल्याएको छ । पदमार्ग र पर्यापर्यटनका पूर्वाधार निर्माणमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गरिएको छ । सुदूरपश्चिमको बडीमालिका र रामारोशन क्षेत्रमा चोरी–शिकारी नियन्त्रणका लागि समुदायमा आधारित इकाईहरू गठन गरिएको सचिव मिश्रले जानकारी दिनुभयो ।

कृषि उत्पादनको बजारीकरणका लागि १५ वटा समर्पित काउन्टर र अनलाइन सपिङको व्यवस्था मिलाइएको छ । मन्त्रालयले सेवाग्राहीको सहजताका लागि डिजिटल माध्यमलाई प्राथमिकता दिएको छ । हेल्प डेस्क, ह्वाट्सएप, क्यूआर कोड र इमेलमार्फत नियमित रूपमा गुनासो सङ्कलन र सम्बोधन भइरहेको जनाइएको छ । मन्त्रालयको क्षेत्राधिकारभन्दा बाहिरका समस्याहरूलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी समाधान गर्ने गरिएको पनि सचिव मिश्रले बताउनु भयो