म्याग्दी। जिल्लाको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग स्तरोन्नति भएको छ ।
महारानीथान-छाप-डाँडाखेत-ठूलोखोला सडकअन्तर्गत टुनीखर्क खण्डको स्तरोन्नति गरिएको हो ।
बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गरेको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि २०८२ पुसमा रु एक करोड १५ लाखमा शङ्कर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।
आयोजनामार्फत ३५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर ढलान भएको बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताउनुभयो । तीन सय ५० मिटरमा पक्की नाली र ४०० घनमिटर पलम पर्खाल निर्माण भएको छ ।
यसअघि तीन-चार मिटर फराकिलो सडकलाई छ मिटर चौडा बनाइएको थियो । निर्माण सम्पन्न भइसकेको सडकमा केही दिनअघि पाखोबाट आएको बाढीले भत्काएको पर्खाल पुननिर्माण गरिएको निर्माण व्यवसायी समीर पौडेलले बताउनुभयो ।
इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा बिटुमीन अभावका बाबजुद पनि निर्धारित समयमा आयोजना सम्पन्न गरेको उहाँले बताउनुभयो । सडक स्तरोन्नति भएपछि छाप, थाकनपोखरी, सेताढुङ्गा, डाँडाखेत र भिरमुनिका बासिन्दालाई सहज भएको छापका प्रकाश जिसीले बताउनुभयो ।
आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी-ठूलोखोला खण्डको वैकल्पिक मार्ग हो ।
रणनीतिक महत्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानबाट डाँडाबारी-छाप, डाँडाखेत हुँदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्नतिलाई निरन्तरता दिइएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा बेनी नगरपालिका–६ को ढलेढुङ्गा-डाँडाबारी खण्डमा कालोपत्र भएको थियो । आव २०८१/८२ मा छाप क्षेत्रमा कालोपत्र भएको थियो । त्यसअघिको वर्षमा ठूलोखोलाबाट डाँडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो ।
बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने आयोजनालाई निरन्तरता दिएको छ । सडकको प्रवेश मार्गमा पर्ने कुरिलाखर्क क्षेत्रको सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीयबासीको माग छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा यो सडक आयोजनाका लागि गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत कार्यान्वयन हुनेगरी रु २५ लाख बजेट विनियोजन गरेको छ । रासस












