२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली गाइडबण्ड पुनर्निर्माणः सैनिक उच्च तहद्वारा निरीक्षण



अ+ अ-

महेन्द्रनगर।  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न नेपाली सेनाले केही समयता भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीको गाइडबण्ड पुनर्निर्माणलाई तिव्रता दिएको हो । आज नेपाली सेनाको युद्वकार्य निर्देशनालयका युद्वकार्य निर्देशक मनोज थापासहितको उच्चस्तरीय सैनिक टोलीले पुनर्निर्माण भइरहेको गाइण्डबण्डको प्रगतिबारे जानकारी लिएको छ ।

निरीक्षणमा श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी बिजितराज रेग्मी, रणसिंह दलका गणपति प्रमुख सेनानी प्रकाश घिमिरे र बराहदलका गुल्मपति सेनानी अशोक शाही सहभागी हुनुहुन्थ्यो । सेना र सडक भिडिजन कार्यालयका प्रमुखसहितको टोलीलाई वर्षात् नजिकिरहेकाले पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

महाकाली पुलको उत्तरतर्फ पर्ने गाइडबण्डसहितको संरचना बाढीबाट जोगाउन गत वर्ष पनि सरकारले तीन महिनाका लागि उक्त क्षेत्रलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी सेनाको जिम्मा दिएको थियो । गत वर्ष आएको बाढीले करिब ३०० मिटर गाइडबण्ड क्षति पु¥याएपछि तत्कालीन समाधानका गरी तटीय क्षेत्रमा बाढीका बेला हुनसक्ने सम्भावित क्षति तथा विपद् न्यूनीकरण गर्न सेनालाई जिम्मेवारी दिएपछि अहिले सो क्षेत्रमा चार सयभन्दा बढी सेना कार्यरत छ ।

तीन सय मिटर गाइडबण्ड पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ८० प्रतिशतभन्दा बढी काम सकिएको नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । सेनाको जनशक्ति सहयोग र सडक डिभिजन कार्यालयको व्यवस्थापकीय सहयोगमा गाइडबण्ड बनिरहेको हो ।

नेपाली सेनाले वर्षात्का बेला सो क्षेत्रमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि नेपाली सेनालाई सरकारले पुनर्निर्माणका लागि आग्रहपछि सैनिक टोली यहाँ खटिएको जनाएको छ । श्री नं २५ बाहिनी अड्डाका अनुसार आयोजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

नेपाली सेनाले उक्त पुनर्निर्माणको संयोजनको जिम्मेवारी सेनाका तर्फबाट श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रेग्मीलाई दिएको छ ।

चार लेनमा बनिरहेको पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) को विषय अन्यौल भएपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको थियो । रासस