काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आज शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो ।
महासङ्घले सार्वजनिक यातायात क्षेत्रमा विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बिमा प्रिमियम, दायित्व र जरिवाना वृद्धि गर्ने गरी प्रकाशित सूचनाले यातायात क्षेत्रलाई आक्रान्त बनाएको र सोही कारणले यस्ता घटना घटेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले मृतक नेपालीका परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागसमेत गरेको छ । रासस












