२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वमा जथाभावी महँगी



अ+ अ-

काठमाडौं । यो वर्षको दसैंको रमाइलो चहलपहलसँगै नरमाइलो महँगीको चर्चा पनि घरघरमा पसिसकेको छ । साँझ बिहान भान्सामा पाक्ने तरकारीदेखि गरगहनासम्मका मूल्य आकासिँदै गएको छ । दसैं आउने दिनगन्ती हुँदै गर्दा महँगी पनि पाइलापाइला उकालो लाग्दै गइरहेको छ । मानिसका आवश्यकता बढ्दै गएका छन् । तर, आर्थिक स्रोत खुम्चँदै गएका छन् ।

नयाँनयाँ सामान बजारमा आइरहेका छन्, केटाकेटीदेखि युवा र बूढाबूढीसम्मका लागि आवश्यक सामानमा बढोत्तरी भएको छ । दसैं मनाउने तरिका र विधिमा परिवर्तन हुँदै गएको छ । अर्काको देखासिकी पनि निकै चलेको छ । सामान्य ग्रामीण जीवनभन्दा पनि सहरीकरण र सजधजको बाहुल्यता देखिँदै गएको छ ।

के खाँदा स्वस्थ जीवन हुन्छ र के लगाउँदा जीवन सरल र सादगी हुन्छ भन्ने भन्दा पनि शरीरले नपचाउने खाना र मदिराजन्य कुरामा जोड भइरहेको देखिन्छ । यी कुराले पनि मानिसलाई आवश्यकताभन्दा पनि देखासिकीको संसारमा धकेलिदिँदा महँगो कुरा उपयोगको मारमा पुर्याएको छ । अर्कोतिर व्यापारी वर्षदिनमा नकमाएको मुनाफा यसैबेला कमाउने ध्याउन्नमा लागेका हुन्छन् । खुल्ला बजारमा महँगी कति बढाउने वा घटाउने भन्ने मूल्य निर्धारणको साँचो उनीहरूको समझदारी र नियन्त्रणमा रहेको हुन्छ ।

हरेक वस्तुको घाटा र नाफा वा छुट र सहुलियत उनीहरूको व्यापारिक निर्णयमा भर पर्दछ । दसैंभर छुटका लागि भनेर ठूलाठूला होर्डिङ बोर्डहरू पनि टाँगिएका हुन्छन् । पसलका ढोकाढोकामा छुटका पम्प्लेट पनि चिप्काइएका हुन्छन् । तर, पसलभित्र सामान भने अघिपछिको भन्दा दसैंमा महँगो नै पर्न गएको हुन्छ । कतिपय व्यापारी एउटा कुरामा कम मूल्य भएको देखाए पनि अरू धेरै सामान बिक्रीबाट सहुलियत दिएको वस्तु बेच्दा दिएको छुट उठ्ने गरी असुलउपर गर्ने योजनामा सामानको बाना मिलाएर बसेका हुन्छन् ।

ग्राहक आवश्यकताका सबै सामान किन्न र पर्व मनाउन बाध्य हुन्छन् । उनीहरूमध्ये कसैले त उधारोमा समेत काम चलाउनु परिरहेको हुन्छ । व्यापारीले नगद र उधारोका लागि मूल्य नै भिन्दाभिन्दै कायम गरेका हुन्छन् । यसले गर्दा पनि चाडपर्व आफैंमा निकै महंगो साबित हुन जान्छ । हाल सरकारले साल्ट ट्रेडिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान आदिलाई अघि सारेर दसैंका बेलामा सुपथ मूल्यका पसल खोलेर जनतालाई सेवा दिने भनी घोषणा पनि गरेका छन् । यसका लागि तयारी पनि भइरहेको बताइएको छ ।

तर, ती सुपथ मूल्यका पसल देशका हरेक गाउँगाउँ र टोलटोलमा छैनन् । कतैकतै सुविधासम्पन्न स्थानमा र त्यो पनि सीमित सामान राखेर खोलिएका छन् । यसले गर्दा जनताका आवश्यकता सबै त्यहाँबाट पूरा हुनसक्ने देखिँदैन । फेरि दुई/चार रूपैयाँ सस्तो सुपथ मूल्यका पसलमा किनमेलका लागि पुग्न र फर्कन गाडी भाडा नै महँगो पर्ने भएकाले आखिर महँगा पसलका सामानसरह ती सुपथ मूल्य पसलका सामान पर्न आउँछन् ।

त्यसैले पनि सुपथ मूल्य पसलका बारेमा जनतामा त्यति चासो देखिएको छैन । सरकारले यस्ता एकदुईवटा त्यो पनि सीमित सामान राखेर सुपथ मूल्य पसल खोल्ने भन्दा पनि व्यापारीसँग सहमति गरेर, बजार अनुगमन गरेर र हरेक सामानका उचित मूल्यका सूचीहरू उपलब्ध गराएर खुला बजारमै पठाउन सकेमा निकै सहज र सरल हुने धारणा आमजनताले व्यक्त गरिहेका छन् । यीबाहेक पसल र स्थानीय जनताका बीचमा सामाजिकलगायतका ऋणधनका अन्य सम्बन्ध पनि हुन्छन् ।

यी सम्बन्धका कारण खुल्ला व्यापारीलाई केवल पर्वका लागि उनका सामान नकिनिदिएर रिसाउने बनाउन चाहँदैनन् । यसले पनि स्थानीय जनतालाई महँगीबाट त्राण दिनसक्ने देखिँदैन । जनता महँगीको मारमा परिरहेको अवस्थामा सरकारी संयन्त्रले अनुगमनलाई नियमित गरी महँगी नियन्त्रण गर्नुपर्छ । दशैंको बेलामा हुने जथाभावी महँगीलाई समयमा नै नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिनु सरकारको कर्तव्य पनि हो । राजधानी दैनिकबाट