२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेको ७ वर्षपछि मात्र नागरिकता !



अ+ अ-

काठमाडौँ । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो ।

विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचीमा राखिएको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ ।

नागरिकता विधेयक संसद्मा पेस भएर समितिमा आएको एक वर्ष कटिसक्दा पनि सहमति जुट्न सकेको छैन । समितिमा सांसदहरूले देखाएको आआफ्ना अडान उपसमितिमा पनि कायम राखेपछि त्यस विषयमा सहमति जुट्न नसकेको हो ।

मुख्य रूपमा सत्तारूढ नेकपाका सांसद बिहे गरेर आएका विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिनुपर्ने अडानमा छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी त्यसको विरोधमा छन् ।

समितिमा तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद पनि वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको प्रावधानमा फेरबदलको चर्को विरोधमा छन्, जसका कारण कांग्रेसका अरू सांसद पनि फेरबदलको पक्षमा देखिएका छैनन् । निर्णायक मध्यस्थता गर्नुपर्ने समितिकी सभापति शशि श्रेष्ठसमेत त्यही पक्षमा देखिएकी छन् । यसले विवाद निरूपणमा समस्या परेको छ ।

नेपाली नागरिकसँगै वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन पाउने व्यवस्था संविधानमा छ । नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गरेको खण्डमा अंगीकृत नागरिकता पाउने प्रावधान छ । ऐनको त्यही प्रावधानअनुसार नेपाली पुरुषसँग बिहे गरेर आएलगत्तै विदेशी महिलाले नागरिकता पाउँदै आएका छन् ।

गृह मन्त्रालयले संसद्मा पेस गरेको नागरिकता संशोधन विधेयकमा त्यसरी नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने प्रावधान थपेर ल्याइएको छ । त्यस्तो निस्सा पेस गर्न नसके नागरिकता रद्द हुने भनिएको छ । मधेसका सांसद त्यसको विरोधमा उत्रिएका थिए । त्यसमाथि प्रशस्तै संशोधन पनि पर्‍यो । भारतमा नागरिकताको प्रावधान नै व्यवहारमा नरहेकाले, त्याग गरेको प्रमाणपत्र जुटाउन सम्भव नहुने उनीहरूको तर्क थियो ।

भारतमा नागरिकताभन्दा रासन कार्ड, आधार कार्ड र मतदाता परिचयपत्रका आधारमा नागरिकले विभिन्न अधिकार प्रयोग गर्ने र सेवासुविधा पाउने प्रावधान रहेको भन्दै उनीहरूले नागरिकता परित्याग गरेको प्रमाण जुटाउन कठिन हुने तर्क गरेका थिए । बहस त्यताबाट मोडिएर ७ वर्षपछि नागरिकता दिनुपर्नेपट्टि मोडियो । ‘यो वा त्यो’ नाममा वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको व्यवस्थालाई जटिल बनाउन खोज्नु उचित नभएको समिति सदस्य समाजवादी पार्टीका सांसद रामसहाय यादव बताउँछन् ।

‘सर्वस्व त्याग गरेर विवाह गरी बुहारी बनेर नेपाल आइसकेकी महिलालाई गैरनागरिक बनाएर राख्न खोज्नु ठीक होइन,’ उनले भने, ‘अहिले व्यवहारमा रहेको कानुनी प्रावधानले के समस्या पार्‍यो, त्यो केलाइनुपर्छ । किन फेरबदल चाहियो ?’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।