२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब ५५ करोडमा नेपाल प्रहरीका तीन अत्याधुनिक भवन



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले एकै दिन एक अर्ब ५५ करोड रुपैयाँ लागतमा तीनवटा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखाको कार्यालय र अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता गर्न भवन निर्माण सुरु गरेको प्रहरीले जानकारी दिएको छ । तीनवटै भवन ०७८ भदौसम्ममा तयार भइसक्नेछन् ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख डिआइजी लोकेश सिंहले निर्माण आरम्भ गरिएका तीनवटा भवन अल्ट्रा मोर्डन शैलीका भएको बताए । उनले भने, ‘हामीले एकै दिन करिब एक अर्ब ५५ करोडको लागतमा तीनवटा भवन निर्माण सुरु गरेका छौँ । अबको दुई वर्षभित्र निर्माण सकिनेछ । यो भवन मोडर्न होइन, अल्ट्रा मोडर्न शैलीमा निर्माण हुनेछ । जसले नेपाल प्रहरीलाई हेर्ने परम्परागत दृष्टिकोण नै बदल्नेछ ।’

प्रहरीका अनुसार काठमाडौं परिसरका लागि सर्वोच्च अदालतसामुन्ने भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन निर्माण सुरु भएको छ । ८० करोड रुपैयाँमा बनाउन लागिएको सो भवन २२ महिनामा तयार भइसक्नेछ ।

अपराध महाशाखाका लागि टेकुस्थित नौ रोपनी जग्गामा भवन निर्माण सुरु भएको छ । ३५ करोड रुपैयाँमा बन्न लागेको भवनको निर्माण १८ महिनामा पूरा हुनेछ । अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता हल भने भृकुटी मण्डपस्थित नेपाल पुलिस क्बलमा बन्नेछ । यसको लागत रकम ४० करोड रुपैयाँको छ । २४ महिनाभित्र निर्माण कार्य पूरा हुने प्रहरीले जनाएको छ ।

डिआइजी सिंहले भने, ‘भृकुटी मण्डपस्थित बन्न लागेको हलमा एकैपटकमा ८ सयजना अटाउन सक्नेछन् । यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछिको अर्को आकर्षक र सुविधा सम्पन्न हल हुनेछ । हलकै आडमा अत्याधुनिक मिनी स्पोर्टस् स्टेडियम पनि बन्नेछ । यसमा नेपाल प्रहरीको अलावा अन्य निकायले समेत टुर्नामेन्ट गर्न सक्नेछन् । पार्किङका लागि उचित प्रबन्ध गरिएको छ । यी सबैको डिजाइन यसरी गरिएको छ, जुन नेपालमा अहिलेसम्म भएकै थिएन ।’

यस्तो बन्दै छ काठमाडौं परिसर

६ रोपनीमा काठमाडौं परिसरको भवनको जग बस्नेछ । भवन आठ तलाको हुनेछ । जसमा प्रहरीको मुख्य कार्यालय रहनेछ । मुख्य कार्यालयको ठीक बायाँतर्फको भागमा प्रहरीको ब्यारेक रहनेछ । जुन चार तलाको हुनेछ । कार्यालयको दायाँतर्फको भागमा भने हिरासत कक्ष रहनेछ । सो कक्ष पनि चार तलाकै हुनेछ । कार्यालयको बायाँतर्फका अर्का दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ । दायाँतर्फको अर्को दुई तला भने सर्वसाधारणको उजुरी लिने कक्षका लागि प्रयोग गरिनेछ ।

अन्डरग्राउन्डमा अत्याधुनिक पार्किङ रहनेछ । जहाँ एक सय गाडी र दुई सयभन्दा धेरै मोटरसाइकल एकैपटक पार्किङ गर्न सकिनेछ । भवनको मुख्य भागको आठ तलासम्मै पुग्ने अत्याधुनिक लिफ्ट रहनेछ । भवनभित्र एकैपटक दुई सयजना अटाउने अत्याधुनिक कन्फरेन्स हल रहनेछ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि भवनभित्रै रहनेछ । प्रहरीका लागि सुविधा सम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र रहनेछन् ।

भवनका प्रत्येक कक्षमा प्रकाशको पहुँच पुग्ने उद्देश्यले नक्सा बनाइएको छ । जसमा वास्तु विज्ञानलाई पनि उत्तिकै ध्यान दिइएको छ । विशेषगरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा वास्तु विज्ञानलाई ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।

यस्तो बन्दै छ अपराध महाशाखा

टेकुस्थित नौ रोपनी जग्गामा अपराध महाशाखाको ६ तले अत्याधुनिक भवन बन्नेछ । पहिलो तलामा हिरासत कक्ष हुनेछ । महिला, पुरुष र बालबालिकाका लागि फरक–फरक हिरासत कक्ष हुनेछन । कक्षमा सबै गरी तीन सयजना एकैपटक अटाउन सक्नेछन् । दोस्रो तलामा कार्यालय प्रमुखको कोठा रहनेछ । जसमा गोप्यरुम, मिटिङहल, बैठकहल, बाथरुम, पिएरुम रहनेछन् । पाहुना तथा पत्रकार सम्मेलनका लागि पनि यही तलामा हल बन्नेछन् ।

तेस्रो, चौथो, पाँचौँ र छैठौँ तलामा भने अप्रेसनल रुम हुनेछ । महाशाखाका कार्यसम्पादन यहीँबाट हुनेछन् । प्रत्येक तलामा फरक–फरक पिलर रहनेछन् । पिलर प्रमुखका लागि छुट्टाछुट्टै रुम हुनेछन् । प्रत्येक तलामा इट्रोगेसनका लागि विशेष कक्ष हुनेछन् । कक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुनेछन् । प्रत्येक कक्ष सिसिटिभीको निगरानीमा रहेनछन् । प्रहरीका लागि आवश्यक ब्यारेक, क्यान्टिन, व्यायामशाला पनि भवनभित्र अटाउनेछन् ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘भवन अत्याधुनिक खालको बन्नेछ । विश्वका प्रहरीले अपनाएका सम्पूर्ण अनुसन्धान प्रविधि रहने गरी भवनको नक्सांकन भएको छ । यो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । नेपाल प्रहरीको साइबर ब्युरो पनि यहीँ बस्ने भन्ने छ । त्यसो हुँदा भवन पक्कै पनि सुविधा सम्पन्न हुनेछ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।