काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता अनुदान लिएर पनि केही लाभग्राहीले निजी आवास बनाउन नसक्नुको कारण खोज्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनलाई निजी आवास पुनर्निर्माण गर्न नसक्नुका कारण खोज्न प्राधिकरणले निर्देशन दिएको प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘पहिलो किस्ता लिएर पनि भूकम्पपीडितले किन घर बनाउन सकेनन् रु यसको समग्र कारण पहिचान गर्न भनेका छौँ,’ प्रवक्ता घिमिरेले भने, ‘घर नबनाउनेको यकिन तथ्यांक र कारण थाहा भएपछि कसरी अगाडि बढ्ने भन्नेमा निक्र्योल गर्नेछौँ ।’ यसअघि पनि प्राधिकरणले अनुदान रकम लिएर पनि घर नबनाउनुको कारण खोज्न जिमाली र भवनलाई भनेको थियो । तर, तथ्यांक नआएपछि यसपटक प्राधिरकणले निर्देशन नै दिएको हो ।
प्राधिकरणसँगै छैन पहिलो किस्ता लिएर घर नबनाउनेको तथ्यांक
प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका आठ लाखमध्ये सात लाख ७६ हजारसँग अनुदान सम्झौता भएको छ । पहिलो किस्ता सात लाख ६९ हजारले लिएका छन् । दोस्रो किस्ता करिब छ लाखले लिएका छन् । तेस्रो किस्ता चार लाख ९३ हजारले लिएका छन् । त्यसमध्ये निर्माण सम्पन्न भएको घर संख्या चार लाख ३३ हजार छ । तीन लाखजनाले गुनासो दर्ता गरेका छन् । ती फस्र्योटसमेत भइसकेका छन् । तर, पहिलो किस्ता लिएका कतिले घर बनाएका छैनन् भन्ने तथ्यांक प्राधिकरणसँग छैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












