२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा सत्तापक्ष र विपक्षीको एकै स्वर : डेंगु नियन्त्रणमा सरकार असफल



अ+ अ-

काठमाडौं । डेंगु रोग नियन्त्रण गर्न असफल भएको भन्दै सत्तापक्ष तथा विपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन् । डेंगु नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने भन्दै संसद्मा सत्तापक्ष र प्रतिपक्षी दल एक ठाउँमा उभिएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले जनसरोकार तथा अहिलेको जल्दोबल्दो समस्याबारे सरकारको ध्यानाकर्षण गराए । डेंगु रोगले मुलुक संक्रमित भइरहेको र संक्रमितमध्ये अधिकांश महँगा निजी अस्पतालमा जान बाध्य भएकोप्रति सत्तारुढ दल नेकपाकै सांसदले सरकारमाथि प्रश्न गरेका छन् ।
संसद् बैठकको प्रारम्भमै नेकपाकी सांसद जुलीकुमारी महतोले बालिका खातुनमाथि दुई युवकले एसिड प्रहार गरेको, बालिकाको अवस्था नाजुक रहेको भन्दै प्रदेश नम्बर २ मा छोरीमाथि एसिड आक्रमणको घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘प्रदेश नम्बर २ सरकारले बेटी पढाउ, बेटी जोगाउ अभियानलाई जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने पढाउ र जोगाउ अभियानको औचित्य हुने छैन,’ उनले भनिन् ।

नेकपाकै सांसद पुष्पाकुमारी कर्ण कायस्तले एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने बताइन् । ‘कहिलेसम्म बालबालिकाले असुरक्षित जीवनयापन गर्न बाध्य हुने ? कानुन संशोधन गरेर भए पनि यस्ता अपराधीलाई मृत्युदण्डको सजाय दिनुपर्छ,’ उनले भनिन् । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मुस्कान खातुनको एसिड आक्रमणकारीलाई कानुन संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने वा जन्मकैद गर्नुपर्ने बताए । कांग्रेस सांसद उमा रेग्मीले भनिन्, ‘मुलुकमा दण्डहीनता बढेको छ । सरकार संवेदनशील भएन । मृत्युदण्डको सजाय हुने कानुन किन ल्याउँदैन ?’

कांग्रेस सांसदले भने–किरियापुत्रीको अगाडि राष्ट्रिय गान बजाउनु अशोभनीय
सरकारले हाल पशुपति क्षेत्रमा साँझपख हुने आरतीमा राष्ट्रिय गान बजाउने निर्णय गरेको छ । त्यस्तै, सिनेमा हलहरूमा समेत सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउन भनेको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसद भीमसेनदास प्रधानले संसद्मा सरकारको यो कदमको विरोध गरेका छन् ।

‘पशुपतिमा आरती मात्र हुन्न । आर्यघाटमा मलामी पनि गएका हुन्छन् । राष्ट्रिय गान बज्दा किरियापुत्री उठ्ने कि नउठ्ने ? सिनेमा हलमा पनि राष्ट्रिय गान बजाउनुपर्ने भनेको छ । सरकारको यस्तो काम पञ्चायतकालको पुनरावृत्ति भयो । राष्ट्रिय गानको सम्मान भएन,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले हालसम्म देशभर २५ सय ५९ जना डेंगुबाट संक्रमित रहेको भन्दै यसप्रति सरकार गम्भीर बन्न नसकेको औल्याए । ‘डेंगु रोगको प्रकोपबाट आज सिंगो मुलुक प्रभावित भइरहेको छ ।

सरकार के गरिरहेको छ रु म सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा टेकुका अनुसार प्रदेश नम्बर १ मा ७५३, प्रदेश नम्बर २ मा २३, ३ नम्बर प्रदेशमा एक हजार ९३, गण्डकी प्रदेशमा ५७२, प्रदेश नम्बर ५ मा १०४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १२ गरी मुलुकभर २५ सय ५९ जनामा डेंगु संक्रमण देखिएको सांसद श्रेष्ठले बताए ।

प्रमुख विपक्षी दल कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले डेंगु रोग नियन्त्रणबारे सरकारले आफ्नो कार्यविधि संसद्लाई जानकारी गराउनुपर्ने बताइन् । ‘सरकारले डेंगु नियन्त्रण गर्न भेक्टर कन्ट्रोल नियन्त्रक भन्ने पद नराखेको भए त्यहाँको जनशक्ति गाउँमा गएर केही गर्नसक्थ्यो कि । स्वास्थ्य मन्त्रालयले यो दरबन्दी नै खारेज गरेको छ । स्वास्थ्य मन्त्रालय केही गर्न सक्दैनौँ भन्छ,’ उनले भनिन् ।

कांग्रेस सांसद डा.डिला संग्रौला पन्तले डेंगु नियन्त्रणमा सरकार प्रभावकारी रूपमा लाग्न नसकेकाले भयावह रूपमा यो रोग फैलिरहेको बताइन् । ‘स्वास्थ्यमन्त्रीले डेंगुको नियन्त्रण गर्न सेना परिचालन गर्ने हो कि भन्ने भनाइ आउँछ । अर्कोतर्फ औलोको प्रकोप नियन्त्रण गर्न बैठक बस्ने भन्ने सुनिन्छ,’ उनले भनिन् ।

एसिड हान्नेलाई मृत्युदण्डको सजाय दिनुपर्छ स: सांसद
एसिड आक्रमण गर्नेमाथि मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्नेमा केही सांसद एक मत देखिएका छन् । भएको कानुन संशोधन गरी एसिड आक्रमणकारीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा उनीहरूको जोड छ । वीरगन्जमा विद्यालय हिँडिरहेकी १५ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहार भएको घटनाप्रति निन्दा व्यक्त गर्दै सत्तारुढ दल तथा विपक्षी दलका सांसदहरूले उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने र दोषीमाथि कानुन संशोधन गरेरै भए पनि हदैसम्मको सजाय दिनुपर्ने बताए ।