काठमाडौं । काठमाडौं महानगरपालिकाले भिजिट नेपाल २०२० लाई ध्यानमा राखेर कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्तेचित्र राख्ने भएको छ । मौलिक पहिचान र सौन्दर्यका लागि महानगरले विभिन्न स्थानमा मूर्ति, चित्र तथा भित्तेचित्र प्रतिस्थापन गर्ने भएको हो ।
मूर्ति राख्ने र भित्रेचित्र बनाउने स्थानको छनोट र त्यसको लागत तयार गर्न महानगरले समिति गठन गरिसकेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको संयोजकत्वमा बनेको सात सदस्यीय समितिले लागत संकलन थालिसकेको महानगरको सम्पदा विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।
समितिको सदस्यसचिव रहेका थापाले नगरको परम्परागत तथा आधुनिक कला–कौशलका बारेमा विश्वलाई जानकारी दिने र महानगर क्षेत्रको सौन्दर्यलाई बढाउने उद्देश्यले महानगरले कार्यक्रम अघि सारेको बताए ।

महानगरले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममै समावेश गरेर कार्यक्रममार्फत सहरी सौन्दर्यलाई बढाएर पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको उनको भनाइ छ । ‘सांस्कृतिक सहर, काठमाडौं महानगर भन्ने पहिचानलाई मूर्त रूप दिन पनि हामीले कला–संस्कृतिको पर्वद्धन गर्न आवश्यक छ,’ थापाले भने, ‘हामी भिटिज नेपाल २०२० को नजिकमा छौँ, विश्वभरका पर्यटक नेपाल आउँदा उनीहरूले सबैभन्दा पहिला देख्ने र टेक्ने भनेको नै काठमाडौं महानगरपालिका हो । त्यसैले यहाँका कला–कौशललाई विश्वभरि चिनाउन पनि यो अभियानलाई अघि बढाएका हौँ ।’
समितिको सोच
कर्माचार्यले सार्वजनिक ठाउँमा ग्यालरी, पार्क र कला संग्रहालयको निर्माण गर्दा दृश्यावलोकनका लागि विश्वभरिका पर्यटक आकर्षित हुने बताए । समितिले काठमाडौंका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि वसन्तपुरसम्म काठमाडौंको मौलिकता झल्किने खालका मूर्ति, चित्र तथा भित्तेचित्र राख्नेबारे छलफल भइरहेको समितिका सदस्य एकाराम सिंहले बताए । बुद्ध, अरनिको, शंखधर साख्वाः आदिका मूर्ति राख्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।
स्थान पहिचान गरी कार्यान्वयनमा जान्छौँ स् संयोजक कर्माचार्य
समितिका संयोजक कर्माचार्यले आफू नेतृत्वको समितिलाई तीन महिनाको समय दिएको बताउँदै महानगरभित्रका कुन–कुन स्थानमा मूर्ति, चित्र तथा भित्तेचित्र राख्न सकिन्छ भन्ने पहिचान गरी कार्यान्वयन प्रक्रियालाई अघि बढाउने बताए ।
‘नेपाल कला र संस्कृतिको धनी देश हो, त्यसमा पनि काठमाडौं महानगरपालिका र उपत्यकाको विशिष्ट पहिचान रही आएको छ,’ कर्माचार्यले भने, ‘भिजिट नेपाल २०२० लाई समेत लक्षित गरेर महानगरपालिकाले विभिन्न स्थानमा मूर्ति, चित्र तथा भित्तेचित्र समिति गठन गरेको छ । हामी महानगरले दिएको जिम्मेवारी पूरा गरेरै छाड्छौँ ।’
उनले नेपालको कला–कौशल विश्वसामु चिनाउने र परम्परागत तथा समसामयिक कला–संस्कृतिको पहिचान गराउन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । ‘सहरी सौन्दर्यका लागि यो महत्वपूर्ण हुन्छ,’ उनले थपे, ‘सहरको सौन्दर्य बढाउन फोहोर व्यवस्थापनलगायतका अन्य धेरै कुरा हुन सक्छन, तर मूर्ति, चित्र तथा भित्तेचित्रले पनि सहरको सौन्दर्य बढाउन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












