२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा भारी बोक्ने नेपालका ‘नाम्ले कान्छा’हरू



अ+ अ-

सिक्किम । ‘ओ नाम्ले कान्छा, लु मेरो सामान लिएर हिँड् त’ भन्दै एकजना नेपाली मूलकै जस्ती देखिने युवती सिक्किमको राजधानी ग्यान्टोकको एमजी रोडमा आइपुगिन्। उनको हातमा १० किलो जतिको सामान थियो। ‘हुन्छ म्याडम कहाँ पुर्‍याउने हो’, भन्दै उनी सामान बोकेर ती युवतीको पछि लागे।

भारतको सिक्किमका विभिन्न सहर र दार्जिलिङलगायत पहाडी बजारमा हजारौं नेपाली युवा नाम्लेको नामबाट परिचित भएर आफ्नो जीवननिर्वाह गरिरहेका छन्। पछिल्लो समय पढेलेखेका युवासमेत ती ठाउँमा भारी बोक्न आकर्षित भएको देखिन्छ।

दोलखा चरिकोटका ४५ बर्से गणेशबहादुर नेपालीले सिक्किममा नाम्लो लगाएर भारी बोक्न थालेको २२ वर्ष भयो। उनको बुवाले उनलाई १५ वर्षको हुँदा पहिलोपल्ट साथै लिएर आएका थिए। एसएलसीसम्म पढाइ सकेपछि आर्र्थिक अवस्थाले पढ्ने वातावरण बनेन। अनि बुवासँगै सिक्किम आए। ‘पहिले पहिले त हामी नेपालीलाई बच्चादेखि बूढासम्मले ओ नाम्ले भन्दै बोलाउँथे,’ उनले भने, ‘सुरु सुरुमा नरमाइलो लाग्थ्यो पछि पच्न थाल्यो। हिजोआज भने कसै कसैले ओ कान्छा पनि भन्छन्।’

उनीहरू सामान बोकेर लगिदिएबापत भारी हेरेर ५० देखि २ सय रुपैयाँसम्म लिने गर्छन्। ‘घर नै यही भारीले चलेको छ। ३ छोराछोरी छन्। उनीहरूलाई पढाउने। पत्नी, आमाबुवा सबैलाई पाल्ने यही भारी बोकेर नै हो’, उनी भन्छन्, ‘हातमा दह्रो नाम्लो बोक्नुपर्छ, कमाइ पनि दह्रो हुन्छ।’

सिन्धुपाल्चोक र दोलखाबाट अधिकांश युवा यता आएका छन्। ‘१२ कक्षा पास गरेँ त्यतिबेलै ०७२ सालको ठूलो भुइँचालो गयो घरसंसार सबै ध्वस्त भयो,’ २८ बर्से प्रकाश घिमिरे भन्छन्, ‘मन बुझाउन र २÷४ पैसा जोड्ने बहानामा गाउँका दाजुभाइसँगै सिक्किम आएँ। भुइँचालोपछि सिक्किम आउने मजस्ता धेरै छन्। बलसँगै नाम्लो चाहिन्छ, कमाइ हुन्छ।’ उनका अनुसार यहाँ कमाइ राम्रै छ, कहिलेकाहिँ नमिठो बोल्ने पनि भेटिन्छन्। उनी ४ वर्षदेखि यहीँ छन्। यहीँको कमाइबाट उनले एउटा घडेरी पनि जोडेका छन्। अब ४÷५ वर्ष नाम्लो बोके घर बनाउने पैसा पुग्नेमा आशावादी छन् उनी।

भारतको सिक्किममा मात्र भरिया काम गर्ने नेपाली युवाको संख्या करिब १५ हजार रहेको भारी बोक्दै आएका अगुवा ६५ बर्से सोमराज विश्वकर्माले बताए। तीमध्ये करिब १० हजार सिन्धुपाल्चोकबाट आएको उनको अनुमान छ। ‘हामी करिब करिब समूहमा मिलेर होटलमा बस्छौँ,’ उनी भन्छन्, ‘हामी नाम्ले बस्ने होटल छुट्टै छ। नेपालीले नै खोलेको होटल छ। त्यहाँ अरु बाहिरका मान्छे जाँदैनन्।’

‘हाम्रो त गाउँ नै खाली खाली छ। गाउँमा थोरै मात्र युवा होलान्,’ विश्वकर्मा भन्छन्, ‘अन्य देश जान पनि ठूलो रकम लाग्ने भएकाले सिक्किम आउँदा गाडी भाडाबाहेक केही लाग्दैन, त्यसैले पनि पढेलेखेका तर विपन्न युवा पनि यहाँ आउने गरेका छन्।’ देशमा यति नै दु स्ख गरे पनि कसैले देख्ने हैन। टाढा अर्काको देशमा आएर अरुको हेपाइमा काम गर्ने आफूहरूको रहर नभएर जीवन गुजारा गर्ने मेलो मात्र भएको उनले बताए।

त्यहाँ सय रुपैयाँ दिँदा २ सयको गाली पनि गर्ने गरेको १२ कक्षा पास गरेर कोरियाली भाषा परीक्षा दिएर खोटाङबाट आएका शम्भु दाहालले बताए। ‘यहाँ काम गरेअनुसार कमाइ हुन्छ भनेर आएको,’ उनले भने, ‘यहाँकाले छाडेको काम हामीले गर्ने हो। सम्मान इज्जत दिने भन्ने हुँदैन। यहाँका मान्छेले सीधै ओइ यहाँ आइज, यो गर् भन्छन्, एकदमै ठाडो बोल्छन्।’

नेपालमा सानोतिनो जागिर खान पनि सोर्सफोर्स चाहिने उनीहरू सबैको तीतो अनुभव छ। ‘पहुँच नभएको, कोही नेता नचिनेकाले भारी बोक्ने काम पनि पाइँदैन नेपालमा। यहाँ हातमा दरो नाम्लो छ भने काम पक्का,’ शम्भु भन्छन्। यहाँ नाम्लो बोक्ने भरिया नेपालीबाहेक अरु छैनन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।