२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेत मासेर माछापोखरी



अ+ अ-

बर्दिया । लागत बढी र उत्पादन न्यून हुन थालेपछि यहाँको बढैयाताल–५ का गणेश शर्मा लम्सालले धान खेती छोडे । विकल्पमा माछा पालन व्यवसाय रोजाइमा पर्‍यो । त्यसका लागि उनले त्यही खेतमा माछा पाल्ने पोखरी निर्माण गरे ।

प्रतिबिघा मुस्किले २५ क्विन्टल धान उत्पादन हुने खेतबाट पोखरी निर्माण गरी माछापालन सुरु गरेपछि अहिले खर्च कटाएर प्रतिबिघा वार्षिक चार लाख रुपैयाँ कमाउँछन् । उनले चार बिघा क्षेत्रफलमा माछा पाल्दै आएका छन् । उनी मत्स्यपालक व्यवसायी संघका अध्यक्ष पनि हुन् ।

माछामा खासै लगानी गर्नु नपर्ने, राम्रो आम्दानी हुने र आफ्नो प्रयोगका लागि पनि हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । ‘धान खेती गर्दा मुस्किलले प्रतिबिघा ५० हजार रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले भने, ‘१० वर्षदेखि माछा उत्पादन र बिक्रीबाट प्रतिबिघा वार्षिक चार लाख बचत गर्दै आएको छु ।’

पुष्प भुसालले १५ बिघा धान खेत मासेर माछा पालन गरेका छन् । उनको पनि अनुभव उस्तै छ । धानले भन्दा माछाले राम्रो आम्दानी दिएको छ । बढैयातालमा करिब एक सय घरपरिवार विगत केही वर्षयता धान खेती छाडदै माछापालनमा आकर्षित छन् ।

परम्परागत खेतीबाट घरखर्च चलाउन धौधौ भएपछि व्यावसायिक माछापालन सुरु गरेका बढैयाताल–३ का रामनाथ थारुले थोरै समयमा पाछा पालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए । धान खेतीका लागि समयमा बीउ, मल र उचित सिँचाइ नपाएको भन्दै माछापालनतर्फ लागेको किसानको भनाइ छ ।

साबिक सोरहवा गाविसमा १ सय ५५ हेक्टरभन्दा बढी धान खेत मासेर यहाँका किसान मत्स्यपालनमा छन् । यहाँ दैनिक दुई टन माछा बिक्री हुने गरेको बढैयाताल मत्स्य ब्लक एवं मत्स्य व्यवसायी संघका अध्यक्ष लम्सालले बताए । दसैं, तिहार, माघीमा माछाको माग बढी हुन्छ ।

बढैयाताल गाउँपालिका पश्चिम तराईको माछाको हब हो । चार दशकअघिसम्म भारतको पश्चिम बंगाल र सिलगुढीबाट बढैयातालमा माछा खरिद गर्न व्यवसायी आउँथे । त्यस बेला सडक सन्जाल थिएन । यहाँका बूढापाका अनुसार रुपैडिहाबाट नेपालगन्ज हुँदै बढैयातालसम्म बयलगाडामा आइस ९बरफ० राखेर माछा खरिद गरी नेपालगन्जबाट ट्रकमा लोड गरी लैजान्थे । अहिले सीमावर्ती भारत र यहाँ माछाको माग बढी भएपछि सिलगुढीका व्यवसायी आउन छाडेका छन् ।

बढैयातालमा उत्पादन हुने माछाका लागि बजारको समस्या छैन । यहाँ उत्पादित माछा बाँके, सुर्खेत, दाङ, कैलालीलगायत जिल्लामा निकासी भएको प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यालयले जनाएको छ । यहाँका माछा सीमावर्ती भारतीय बजारमा समेत खरिदबिक्री हुन्छन् ।

थोरै लगानी, कम मिहिनेत तथा छोटो समयमा धेरै आम्दानी हुने भएपछि बढैयातालका किसान माछापालनप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक कमल तामाङले बताए । गत वर्षको तुलनामा माछाको निकासी बढेको उनले बताए । ‘गत आवको असार मसान्तसम्म ३३ करोड रुपैयाँको माछा उत्पादन भएको छ,’ उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।