६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो अपडेट: ९० को मृत्यु, २९ अझै बेपत्ता



अ+ अ-

काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।

उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।

अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।