६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प



फाईल फोटो
अ+ अ-

राँझा । राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताउनुभयो ।

उहाँका अनुसार, शनिबार बिहानदेखि नदीको बहाव बढेको हो । आवागमन बन्द हँुदा वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम नेपालगञ्ज जाने यात्रु समस्यामा परेका छन् ।

“नदी वारपार गर्ने कुनै माध्यम छैन, पैदल हिँड्ने बाटोसमेत अवरुद्ध भयो”, खुनाले भन्नुभयो, “नदीमा पानी बढ्दैछ, गाउँतिर पसेर कटान गर्ने खतरा भएको छ ।” आवागमन बन्द हुँदा बिरामी, अशक्तलाई बढी समस्या हुने गरेको छ । भम्का र अमुवागाउँमा स्वास्थ्य संस्था नभएकाले नदीमा पानीको बहाव नघट्दासम्म उपचार पाउनबाट समेत सर्वसाधारण वञ्चित भएको खुनाको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट हुनसक्ने जोखिमको अनुमान गर्दै स्थानीय प्रहरी, रेडक्रसलगायत निकाय पूर्वतयारीमा जुटेको बताउनुभयो । “वर्षासँगै राप्तीको बहाव बढ्दै गएको छ”, अध्यक्ष थारूले भन्नुभयो, “सुरक्षा निकाय र नदी छेउका बासिन्दालाई सचेत रहन सूचना गरेका छौँ ।”

उहाँले भम्का र अमुवागाउँका बासिन्दा वर्षौँदेखि राप्ती नदीमा आउने बाढीबाट पीडित हुँदै आएकाले पुल निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । पुलको ठेक्का भइसकेकाले छिट्टै भम्का र अमुवागाउँका बासिन्दाको दुःख अन्त्य हुने उल्लेख गर्नुभयो ।

राप्तीमा पानीको बहाव बढ्दो

राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’ पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो ।

शनिबार दिउँसो ३ः३० बजे नदीको सतहले ‘खतराको विन्दु’ पार गरेको हो । राप्ती नदीको कुुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका संयोजक गौरी बुढाथोकीले रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् ।