
काठमाडौं । पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो । यसअघि १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन् ।
कर छलीका गतिविधि मुख्यतः कारोवार नगरी बिलमात्रै बेच्ने, अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने, भन्सार चोरी पैठारी, अण्डर विलिङ, खरीद बिक्रीसम्बन्धी कागजमा मूल्य मिलाउने, मूल्य अभिवृद्धि कर (भ्याट) बिल/प्यान बिल नक्कली बिजक बिक्री गर्ने पाइएको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्नेदेखि वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत् अवैधरुपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने जस्ता अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराध भइरहेका छन् । भन्सार अधिकृतसहित आठ कर्मचारी, कर सहयोगी र अडिटरसमेत संलग्न रहेका पाइएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।












