२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले गर्ला दिल्ली कब्जा ?



अ+ अ-

काठमाडौं । भारतमा यसबेला लोकसभा निर्वाचन जारी छ । तल्लो सदन लोकसभा निर्वाचनले भारतमा सरकार निर्माणका लागि महत्त्वपूर्ण अर्थ र भूमिका राख्ने गर्छ । यो निर्वाचनमा राजधानी नयाँ दिल्ली, उत्तर प्रदेश, पश्चिम बङ्गाल लगायतका राज्य र स्थानमा हुने निर्वाचनले पनि निकै महत्त्व राख्ने गरेको छ । दिल्ली क्षेत्रमा हुने निर्वाचन र त्यहाँ देखिने राजनीतिक शक्ति सङ्घर्षले त झन् सिङ्गो भारतलाई प्रभावित पार्ने गर्छ । यो क्षेत्रमा आइतबार ९ मे १२० निर्वाचन हुँदैछ । त्यसर्थ दिल्लीमा हुने लोकसभा निर्वाचनमा यो पटक कुन राजनीतिक पार्टी हाबी हुन्छ र त्यहाँको पछिल्लो राजनीतिक अवस्था कस्तो छ रु सोही आधारमा हामीले त्यहाँको राजनीतिक वस्तुस्थितिबारे सङ्क्षिप्त टिप्पणी गर्ने प्रयास गरेका छौँ ।

राष्ट्रिय राजधानीसमेत रहेको दिल्लीमा जम्मा ७ सिटका लागि निर्वाचन हुँदैछ । दिल्लीका ७ निर्वाचन क्षेत्रमा यो पटक चर्चित व्यक्तित्वहरुको प्रतिस्पर्धा हुने भएकोले सिङ्गो भारतका अलवा दक्षिण एसियाकै ध्यान त्यसतर्फ खिचिएको छ । तीन पटकसम्म मुख्यमन्त्रीको अनुभव सम्हालिसकेकी काँग्रेस आईकी चर्चित नेतृ शिला दीक्षित, ओलम्पिक काँस्य पदक विजेता खेलाडी विजेन्दर सिंह, चर्चित क्रिकेटर गौतम गम्भीर, गायक हंसराज हंस, भोजपुरी अभिनेता एवम् गायक मनोज तिवारीजस्ता हस्तीहरु चुनावी मैदानमा उत्रिएकाले पनि सबैको ध्यान दिल्लीतर्फ खिचिएको हो ।

सन् २०१४ मा सबै सिटमा भाजपाले जित हासिल गरे पनि यो पटक भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो पटक भने काँग्रेस आई र भाजपा दुईवटै पार्टीले राजनीतिक र गैरराजनीतिक क्षेत्रबाट समेत दिग्गज व्यक्तित्वहरुलाई चुनावी मैदानमा उतारेका छन् । त्यसैले पनि भाजपालाई यो पटक नयाँ दिल्लीमा निकै कडा चुनौतीको सामना गर्नुपर्ने स्थिति देखापरेको छ । भाजपा र काँग्रेसका अतिरिक्त अन्य पार्टीका उम्मेदवारहरुको चर्चाले समेत यसबेला दिल्ली तातेको छ ।

यस्ता छन् काँग्रेस आईका प्रभावशाली उम्मेदवार

काँग्रेस आईले दिल्लीका ७ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरु तय गरेको छ । पूर्वी दिल्लीबाट अरविन्दरसिंह लवली, चाँदनी चोकतर्फ जयप्रकाश अग्रवाल, नयाँ दिल्लीमा अजय माकन, उत्तरपश्चिम दिल्लीबाट राजेश लिलोठिया, पश्चिम दिल्लीबाट महाबल मिश्रा, उत्तर पूर्वी दिल्लीबाट शिला दीक्षित र दक्षिणी दिल्लीबाट ओलम्पिक काँस्य विजेता खेलाडी विजेन्दर सिंहले निर्वाचनमा उम्मेदवारी दिएका छन् । काँग्रेसबाट उम्मेदवारी दिएका उनीहरु राजनीतिक पृष्ठभूमिका अतिरिक्त गैरराजनीतिक क्षेत्रमा समेत प्रतिष्ठा कमाइसकेका व्यक्ति हुन् ।

यी हुन् भाजपाका प्रभावशाली उम्मेदवार

भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवारी दिएका नेताहरु पनि आफैँमा प्रभावशाली उम्मेदवार हुन् । उत्तर पश्चिम दिल्लीबाट पञ्जावी गायक हंसराज हंस, दक्षिणी दिल्लीबाट वर्तमान सांसद रमेश विधुडी, नयाँ दिल्लीबाट भाजपा सांसद मिनाक्षी लेखी, पूर्वी दिल्लीबाट गौतम गम्भीरले भारतीय जनता पार्टीको तर्फबाट निर्वाचन लड्दैछन् । त्यस्तै चाँदनी चोकतर्फ केन्द्रीय मन्त्रीसमेत रहेका हर्षवद्र्धन, पश्चिमी दिल्लीबाट प्रवेश बर्मा र उत्तरपूर्वी दिल्लीतर्फबाट भाजपाका प्रदेश अध्यक्षसमेत रहेका मनोज तिवारी चुनावी मैदानमा उत्रिएका छन् ।

आम आद्मी पार्टीको स्थिति के छ ?

पछिल्ला वर्ष दिल्लीको शक्तिशाली पार्टीको रूपमा देखिएको आम आद्मी पार्टी पनि चुनावी मैदानमा छ । अरविन्द्र केजरीवाल लगायतका नेताहरुले नेतृत्व गरेको सो पार्टीको दिल्लीमा राम्रो प्रभाव देखिन्छ । सो पार्टीले उत्तरपूर्वी दिल्लीबाट दिलिप पाण्डे, चाँदनी चोक क्षेत्रबाट पंकज गुप्ता, पूर्वी दिल्लीबाट आतिशी, दक्षिणी दिल्लीबाट राघव चड्डा, उत्तर पश्चिम दिल्लीबाट गुगन सिंह, नयाँ दिल्लीबाट ब्रजेश गोयल, पश्चिम दिल्लीबाट बलवीर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।

के भन्छन् उम्मेदवारहरु ?

उत्तर पूर्वी दिल्लीबाट निर्वाचन लडिरहेकी काँग्रेस उम्मेदवार शिला दीक्षित आफैमा प्रभावशाली नेतृ हुन् । उनले निर्वाचन क्षेत्रका मतदाताहरुलाई प्रभावमा पार्ने आफ्नै किसिमको रणनीति अप्नाएकी छिन् । उनले भनेकी छिन्, ‘यो क्षेत्र मेरो भावनासँग जोडिएको क्षेत्र हो । अघिल्ला निर्वाचनमा पनि मैले यही क्षेत्रबाट चुनाव लडेकी थिएँ । त्यसैले जनताले मलाई जिताउँछन् भन्ने विश्वास छ ।’ त्यस्तै पूर्वी दिल्लीबाट चुनावी मैदानमा उत्रिएका भाजपाका उम्मेदवार गौतम गम्भीरले सो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कोही नभएको र जित आफ्नै पक्षमा रहेको दाबी गर्दै आएका छन् । उनले आम आद्मी पार्टीकी उम्मेदवार आतिशीतर्फ सङ्केत गर्दै उनी आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गर्दै आएका छन् । उनले भने, ‘म नरेन्द्र मोदीको नेतृत्वमा इमानदारिताको पनि नेतृत्व (सुरुवात) गर्दैछु, मैदानमा मेरा अन्य प्रतिस्पर्धी नै छैनन्, म पूर्वी दिल्लीका जनतामाझ आफ्नो नयाँ भिजन प्रस्ताव गर्न आएको हुँ । म सकारात्मक एजेन्डाका साथ जनतामाझ जान चाहान्छु ।’

त्यसैगरी दक्षिण दिल्लीबाट निर्वाचन लड्ने घोषणा गरेका काँग्रेसका उम्मेदवार विजेन्दर सिंहले भने केही पृथक मुद्दा उठान गरेका छन् । उनले राजनीतिक मुद्दाभन्दा पनि युवा र खेलकुदसँग सम्बन्धित मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखेका छन् । ओलम्पिक खेलमा काँस्य पदकसमेत जितेका उनले भनेका छन्, ‘यो निर्वाचनमा विशेषगरी युवा र खेलकुदसँग सम्बन्धित मुद्दामा मेरो ध्यान केन्द्रित हुनेछ ।’

आम आद्मी पार्टीको भाजपा र काँग्रेस दुवैलाई हराउने दाउ

दिल्लीको पावरको रूपमा रहेको आम आद्मी पार्टीले भने भाजपा र काँग्रेस आईले दिल्लीको हकको लडाइँ लड्न नसक्ने दाबी गरेको छ । सो पार्टीले कुनै पनि कलाकार होस् वा खेलाडी कसैले पनि दिल्लीको हक र अधिकारको पक्षमा लडाइँ लड्न नसक्ने दाबी गरेको छ । आम आद्मी पार्टीका प्रदेश संयोजक गोपाल रायले काँग्रेस आईले दिल्लीमा भोट काट्ने तर जित हाँसिल गर्न नसक्ने बताए । रायले काँग्रेसले भाजपालाई जित्न नसक्ने बरु केही मत भने काट्न सक्ने दाबी गरे । उनले काँग्रेसले जित हासिल गर्न भाजपाका मतदाताले मत दिनुपर्ने तर त्यो सम्भव नभएको समेत दाबी गरे । संयोजक रायले अघिल्ला निर्वाचनमा भाजपा र काँग्रेसले ७ वटै सिटमा विजय हासिल गर्दै आए पनि ती पार्टीले दिल्लीका लागि केही नगरेको बताए ।

नयाँ दिल्ली प्रतिष्ठाको विषय

नयाँ दिल्ली भारतको केन्द्रीय राजधानीसमेत हो । यहाँको चुनावी जित हारले भारतमा मात्र होइन, दक्षिण एसियामा समेत प्रभाव पार्ने गर्दछ । सन् १९५१ देखि संसदीय सिटका लागि निर्धारण गरिएको यो चुनावी क्षेत्र यसअघि भारतका प्रतिष्ठित नेताहरुको चुनावी क्षेत्रसमेत हो । नयाँ दिल्लीमा सन् १९५२ मा पहिलो पटक लोकसभा निर्वाचन भएको थियो । दिवङ्गत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयी, भाजपाका वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवानी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहले यो क्षेत्रबाट चुनाव लडेका थिए । त्यसकारण पनि यो क्षेत्र भारतीय केन्द्रीय राजनीतिक नेतृत्वको नजर पर्ने क्षेत्र हो । त्यसर्थ, नयाँ दिल्लीलगायतका यी क्षेत्रमा हुने निर्वाचनले भारतका अलवा विश्वको ध्यान तान्ने गरेको छ ।