२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भविष्य निर्माणमा अन्तिम सम्बोधन, के भनेका थिए त अधिकारीले ?



अ+ अ-

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।

जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुग्नुभएको थियो ।

मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उहाँले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो ।

“आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महीना अध्यापन गरेको विद्यालयलाई उहाँले निकै माया गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।” सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोल्नुभएको थियो ।

विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उहाँले भन्नुभएको थियो, “सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महीनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनै पर्छ ।” मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए ।

बोलिसके पछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताउनुभयो । उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राख्नुभएको थियो ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उहाँले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिनुभएको थियो ।

बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गर्नुभएको थियो ।

भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहनुभएका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उहाँले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाउनुभएको स्मरण गर्नुहुन्छ ।

“त्यसै बेलादेखि नै मैले उहाँलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रुपमा चिनेको हुँ”, आचार्यले थप्नुभयो, “उहाँमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।”

भरतपोखरीको शान्ति उदय माविबाट प्रवेशिका उत्तीर्ण गरेका अधिकारीको निधनले यतिखेर उहाँका समकालीन मित्रका साथै शिक्षक तथा अभिभावकका आँखा रसाएका छन् । शिक्षा प्रेमी अधिकारीको निधनले विद्यालयको आशा एवं विश्वासको धरोहरको अन्त्यका रुपमा महसुस गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल बताउनुहुन्छ ।

“उहाँमा रहेको विकासप्रेमी सोच, मिलनसार व्यक्तित्व सबैका लागि अनुकरणीय थियो, उहाँको अभाव विद्यालय एवं यहाँको समाजमा सधैँ खट्किरहने छ”, भुजेलले थप्नुभयो । अधिकारीको छिमेकीसमेत रहेका विद्यालयका पूर्वविद्यार्थी सविन आचार्य बच्चादेखि वृद्धसम्म सबैसँग मिल्ने उहाँको व्यवहारले के बालक, के वृद्ध यतिखेर सबै शोकाकुल रहेको बताउनुहुन्छ ।

“जिल्लाका साथै जन्मस्थान भरतपोखरीको समग्र विकासमा उहाँको धेरै योगदान छ, उहाँकै पहलमा धेरै पुलपुलेसा, बाटोघाटो निर्माण भएका छन्” आचार्यले भन्नुभयो, “उहाँले अघि सारेका बाँकी योजनालाई पूरा गर्नुपर्छ ।”




भर्खरै