२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको अनशनः पेलेरै जाने तयारीमा सरकार, आज पारित हुँदै



अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको अनशनलाई पेलेरै जाने तयारी सत्तारुढ दल नेकपाले गरेको छ। राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई बिहीबार जसरी पनि पारित गर्ने रणनीति सत्तापक्षको छ। यसका लागि नेताहरुले सांसदहरूलाई बुधबार सिंहदरबारमा ब्रिफिङ गरेका छन्।

विधेयक प्रतिनिधिसभाबाट पनि कांग्रेसको अवरोध र होहल्लाबीच पारित गरिएकोे थियो। केसीका माग ‘हुबहु’ पूरा गर्नेगरी विधेयक आएकोले अनशन बसिरहनुको तुक नभएको सत्तापक्षको जिकिर छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रियसभा दल नेता दीनानाथ शर्मा, नेता योगेश भट्टराईलगायतले सत्तापक्ष र केसी पक्षका मागमा देखिएको अन्तर र सत्तापक्षले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सांसदलाई ब्रिफिङ गरे।

नेकपा संसदीय दलका नेता शर्माले विधेयक पारित गर्ने विषयमा छलफल गरिएको बताए। ‘शिक्षामन्त्रीलगायतका पार्टी नेताहरू हुनुहुन्थ्यो। विधेयकमा उठेका जिज्ञासाका विषयमा उहाँहरुले प्रस्ट पार्नुभयो,’ शर्माले अन्नपूर्णसँग भने, ‘हामी राष्ट्रियसभाबाट विधेयक पारित गरेरै जाने पक्षमा छौं।’ उनले सत्तापक्षका अन्य तयारीबारे थप खुलाउन चाहेनन्। यद्यपि उनले भने, ‘गोविन्द केसीका अधिकांश माग पूरा भएका छन्। यसमा अल्झिरहनु पर्दैन। हामी विद्ययेक पारित गरेर अगाडि बढ्छौं।’

प्रतिपक्षी कांग्रेसले केसीको अनशन र आन्दोलनको बलमा विधेयकलाई पुनः प्रतिनिधिसभामै फर्काउन खोजिरहेको छ। तर सत्तापक्ष यसलाई जसरी पनि पारित गर्न चाहन्छ। विधेयकमा केसीका माग समेत सम्बोधन भएको भन्दै ‘दीपावली’ गर्ने रणनीति उसको छ। संसद्मा कांग्रेसले उठाउँदै आएको दुई पूर्वसभापतिका नाममा रहेको अस्पताल संघअन्तर्गत नै राख्ने मन्त्रिपरिषद्को निर्णय उपप्रधान तथा स्वस्थ्यमन्त्री उपेन्द्र यादवले सदनलाई जानकारी गराउने तयारी पनि गरिएको छ।

सांसदलाई ब्रिफिङ गर्नुअघि नेताहरूले नेकपा दलको कार्यालय सिंहदरबारमा पार्टी जनवर्गीय संगठनका अगुवा नेता–कार्यकर्तालाई पनि ब्रिफिङ गरेका थिए। केसीको अनशनलाई कांग्रेसले उचालिरहेको आरोप उनीहरुले लगाएका थिए। ‘कांग्रेसले यो अनशनलाई उचाल्ने काम गरेको छ। तर, यो योजना सफल हुँदैन। हामी विधेयक पारित गरेर आफनो सुरमा अगाडि जान्छौँ,’ कार्यकर्तालाई संसदीय दलका उपनेता नेम्वाङले भने।

स्वास्थ्यमन्त्री यादवको भूमिकामा असन्तुष्टि

नेकपा नेताहरूले चिकित्सा शिक्षा विधयेकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री सरकारले ल्याएको विधेयकको पक्षमा खुलेर लाग्नुपर्नेमा केसीको पक्षमा देखिन पुगेको भन्दै नेकपा नेताले उनको आलोचना गरे।

उहाँको भूमिका गोविन्द केसीको पक्षमा जस्तो देखियो। सुरुमा केही दिन स्वास्थ्यमन्त्री सम्र्पकमै रहन चाहनुभएन। उहाँको भूमिकामा सन्तुष्ट हुने अवस्था देखिँदैन,’ नेम्वाङको भनाइ उद्धृत गदै सहभागी एक नेताले अन्नपूर्णसँग भने। यादवले गत साता मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केसीसँगको सहमतिअनुसार नै विधेयक बन्नुपर्ने धारणा राखेका थिए।

केसी आफैंले अनसन तोड्ने विश्वास

सत्तापक्षले केसी आफैंले अनसन तोड्ने विश्वास व्यक्त गरेका छन्। पछिल्ला दिनमा प्रधानमन्त्रीले नै गरेको सहमति पालना नगरेकोले उनलाई नैतिक दोष दिँदै केसीको जीवनरक्षाको लागि अनशन तोड्नु पर्ने आवाज उठिरहेको छ। अन्तिममा कांग्रेसले समेतको पहलमा अनशन तोडिने बुझाइ सत्तापक्षको देखिन्छ।

राष्ट्रियसभाबाट विधेयकमा निर्णय हुनेबित्तिकै केसी पक्षधरले नै उनको जीवनरक्षाका लागि अनशन रोक्न लगाउने नेम्वाङले बुधबारका छलफलमा बताएका थिए। त्यति गर्दा पनि अनशन नतोडे केसी पक्षधरको आन्दोलनको विपक्षमा थप रणनीति बनाएर अगाडि जाने तर केसीका मागमा यो पटक सम्झौता नगर्ने पक्षमा सत्तापक्ष देखिएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।




भर्खरै