२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० हजार नागरिक अझै ‘औँठाछाप’



अ+ अ-

बाँके । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ।

साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालीन नौबस्ता गाविसमा पनि निरक्षरको सङ्ख्या धेरै रहेको स्थानीय याम श्रेष्ठ बताउनुहुन्छ । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर रहेको भेटिएका छन् ।

यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्कअनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई लाख १२ हजार ६३२ पुरुष साक्षर रहेको कागजी तथ्याङ्कले देखाएको छ ।

३५ हजार जनसङ्ख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुननसकेको आँकलन गरिएको छ तर, तत्कालीन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा एकाइ समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको सङ्ख्या बढी रहे पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा निरक्षरको यकिन विवरण आफूहरूसँग नभएको बताउनुहुन्छ ।

“गाउँपालिकामा सर्वे भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा यकिन विवरण छैन, यसै भन्न पनि सकिँदैन ।” यद्यपि यस्तो रकेर्ड राख्ने जिम्मेवारी शिक्षा कार्यालयकै हुन्छ ।” राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ ।

तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो सङ्ख्या कागजमा घटेपनि सङ्ख्यात्मकरूपमा उत्तिकै रहेको छ । शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा बालुवामा पानीझै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ ।

साक्षरको तथ्याङ्क घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भन्नुभयो, “वर्षौैं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महीना पढेकाले सधैँ कहाँबाट सम्झिरहुन् ।” सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने निरन्तर शिक्षामा करीब डेढ सय कक्षाका लागि कोटा आए पनि यी कक्षासमेत प्रभावकारी हुनसकेका छैनन् ।

साक्षर घोषणा गरिएको तत्कालीन नौबस्ता गाविस र नेपालगञ्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालीन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिए पनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ ।

गाउँपालिकामा निकै ठूलो जनसङ्ख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउनुहुन्छ । अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकाजमा औँठाछाप नै प्रयोग गर्दै आएको पाइएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताउनुभयो । रासस