२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन गर्न डरायो सरकार, करिब ९ सय जनप्रतिनिधि रिक्त



अ+ अ-

काठमाडौं । स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पदपूर्तिका लागि गरिनुपर्ने उपनिर्वाचनमा सरकार पक्षबाटै आलटाल भएको छ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएको एक वर्ष पूरा हुँदासमेत यसबीचमा रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनका लागि सरकार पक्षबाटै आलटाल हुँदै आएको हो ।

हाल देशभरका स्थानीय तहमा गरी करिब ९ सय जनप्रतिनिधि रिक्त रहेको र ती विभिन्न फरकफरक पदमा उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताउँदै आएका छन् ।
हालको स्थानीय तह निर्वाचन ऐनअनुसार वडाध्यक्षको उपनिर्वाचन हुन सक्ने व्यवस्था रहे पनि वडा सदस्यको उपनिर्वाचनका विषयमा केही उल्लेख नहुँदा कानुनी रूपमा सबै रिक्त पदमा निर्वाचन गर्न आयोगलाई कठिन परेको छ ।
यस्तै, स्थानीय तहको निर्वाचन मिति तोक्ने अधिकारसमेत आयोगलाई छैन । सरकारले मिति तोकेपछि आयोगले निर्वाचन तयारी थाल्नुपर्छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन ऐनमा भने प्रदेश र प्रतिनिधिसभा सदस्य पद खाली भई उपनिर्वाचन गर्नुपर्ने अवस्थामा कानुनी बाटो खुला छ । सो अवस्थामा निर्वाचन आयोग आफैंले उपनिर्वाचनको मितिसमेत तोक्न सक्ने अधिकार छ ।
आयोगका प्रमुख आयुक्त डा। अयोधिप्रसाद यादवले कानुनी पाटो खुला भए आयोग रिक्त जनप्रतिनिधिका लागि निर्वाचन गर्न तयार रहेको जनाए । ‘आयोग उपनिर्वाचनका लागि तयार छ तर सबै रिक्त जनप्रतिनिधिको निर्वाचन गर्न कानुनी जटिलता छ, आयोगलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने अधिकारसमेत छैन, प्रदेश र प्रतिनिधिसभाको भने आयोगले नै तोक्न सक्छ,’ प्रमुख आयुक्त यादवले राजधानीसँग भने ।

सरकारले स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको उपनिर्वाचनका लागि तत्काल कानुन नबनाए रिक्त रहेका सबै पदमा निर्वाचन गर्न सम्भव नहुने निर्वाचन आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता शंकरप्रसाद कोइरालाले आयोगलाई कानुनी रूपमा नै उपनिर्वाचनका लागि बाधा रहेकाले सरकारलाई आवश्यक कानुन निर्माणका लागि आग्रह गरिसकिएको बताए ।
‘सबै रिक्त पदमा निर्वाचनका लागि आयोगलाई कानुन पनि चाहिन्छ, अहिलेकै कानुनअनुसार सबै रिक्त पदमा उपनिर्वाचन सम्भव छैन,’ प्रवक्ता खरेलले भने, ‘सरकारलाई कानुनी बाटो खोल्न आयोगले आग्रह गरिसकेको छ ।’
आयोगले गत असोजमा नै कानुनी पाटोको फुकुवाका लागि सरकारलाई आग्रह गरेको हो । कानुन नआउँदा दिनानुदिन रिक्त जनप्रतिनिधिको संख्यासमेत बढ्दै गएको छ ।

भवितव्य घटना तथा दुर्घटनाका कारण मृत्यु भएका, राजीनामा दिएका, निर्वाचन नै नभएका र जिल्ला समन्वय समिति गठन हुँदा रिक्त हुन पुगेका स्थानमा उपनिर्वाचन आवश्यक रहेको आयोगको तथ्यांङ छ ।
देशका ७७ जिल्लामा नौ सदस्यीय जिल्ला समन्वय समितिमा मात्रै जनप्रतिनिधिबाटै पदपूर्ति हुँदा ६९३ जनप्रतिनिधिको पद रिक्त छ । यस्तै, देशभर १७५ दलित वडा सदस्यको पद रिक्त छ । दलित सदस्यको उम्मेदवारी नपरेको ठाउँमा के गर्ने भन्ने व्यवस्था नहुँदा सो पदसमेत रिक्त रहेको हो ।
यसैगरी, ७५३ स्थानीय तहमा रहेका ६ हजार ७४३ वडामध्ये १९ वडामा वडाध्यक्ष पद रिक्त छ । जसमा १४ जनाको मृत्यु भएको, दुई जना जिल्ला समन्वय समितिमा पुगेका, एक जनाले राजीनामा दिएको तथा एक जना जेलमा रहेको तथ्यांकले देखाउँछ ।

यस्तै, सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा भने कुनै पनि पदमा उम्मेदवारी नै नपरेकाले वडाध्यक्षसहित सबै सदस्य रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएका कारण सो स्थान रिक्त छ । भक्तपुर र बागलुङका एक÷एक जना प्रदेशसभा सदस्यको समेत मृत्यु भएको छ ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले समेत उपनिर्वाचनका लागि चासो देखाउँदै आगामी वैशाखसम्म उपनिर्वाचन गर्न सरकारलाई निर्देशन दिइसकेको छ । समाचार राजधानी दैनिकमा छ ।