२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्धर्व दाइका व्यथा: हाम्रो अवस्था उस्तै छ हजुर



अ+ अ-

ध्रुवसागर शर्मा

गलेश्वर, २६ कात्तिक:

“नेताजीको भरपर्दो बात छैन
यिनको पनि गतिलो छाँट छैन ।

पर्छ रात अवश्य दिन बितेसी
जनताको के वास्ता चुनाव जितेसी ।”

गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने ।

२०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिनुभयो ।

कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उहाँको भनाइ थियो ।

‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भन्नुभयो, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् ।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बेनपा–२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्नुभयो । उहाँले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्याइँर्याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गर्नुभयो ।

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गर्नुभएको थियो ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् ।




भर्खरै