९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्छ- प्रधानमन्त्री देउवा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरुका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबपक्ष प्रतिवद्ध हुनुपर्ने बताउनुभएको हो ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उहाँले महिलालाई समान वंशिय हक, पैतृक सम्पतिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धि हक प्रदान गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले तिनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरी महिलाहरुलाई भेदभाव बिना समान बंशिय हक, सुरक्षित मातृत्व, प्रजनन् सम्बन्धि हक, पैतृक सम्पति लगायत सबै विषयमा समान हक, अधिकारको प्रत्याभुति गरेको छ । राज्यको सबै निकायहरुमा महिलाहरुको समानुपातिक, समावेशीतालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि विषयको हिंसात्मक कार्य, शोषणलाई दण्डनीय बनाएको छ । महिला सशक्तिकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तिनवटै तहको सरकारले आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक छ । देशको मुल कानूनले गरेको समस्त व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिवद्ध हुनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शुन्य सहनशीलताको नीति अपनाई सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले महिलाहरुको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।