२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले अनुदानमा दिन चाहेको तर नेपालले नलिएका दुई आयोजना !



अ+ अ-

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ ।

विदेशमन्त्री यीको भ्रमणका समयमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता भएको छ । तर चीनले दिन चाहेको र तयारी गरेको दुई प्रस्तावमा नेपाल सरकारले चासो दिएन ।

सरकारको चासोमा र प्राथमिकतामा नपरेपछि दुई प्रस्तावमा कुनै सम्झौता हुन सकेन । विदेशमन्त्रीको भ्रमणको तयारी सुरु भएदेखि नै दुई देशका अधिकारीहरुबीच नेपाल चीनबीच हुने सम्झौताका दस्तावेजहरु पटकपटक आदानप्रदान भएका थिए । जसमा मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान र दासढुङ्गा नारायणगढ कोरिडर आयोजना चीनले अनुदानमा निर्माण गरिदिने उल्लेख थियो ।

तर सरकारले सम्झौतालाई अन्तिम रुप दिने समयमा यी दुई सहित चीनले अघि बढाइरहेको बहुचर्चित बेल्ट एन्ड रोड (बिआरआई) परियोजनासँग सम्बन्धित केही प्रस्तावहरु कटौती गरेर पठाएको स्रोतले जनायो ।

अमेरिकी सहयोग कार्यक्रम एमसीसीलाई संसदबाट अनुमोदन गरेलगत्तै भूराजनीतिक दबाबमा परेको नेपाल सरकारले बिआरआई र अन्य आयोजनामा सहमति गर्ने अनुमान गरिए पनि नेपाल सरकार र चीनबीच लगानीको मोडेलमा मतैक्य हुन नसकेको बताइएको छ ।

यद्यपी चिनियाँ अनुदानमै निर्माण गर्न खोजिएका आयोजनालाई पनि नेपाल सरकारले बेवास्ता र अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन मामिलाका विज्ञ डा राजीव कुमार झाले पनि चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका अवसरमा नेपाल सरकारले अपरिपक्व कुटनीति प्रदर्शन गरेको र चिनियाँ उच्च नेताको भ्रमणलाई औपचारिकतामा सीमित पारेको बताउनुभयो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउनु भएका विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार आउनु भएको थियो ।

नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नु भएको थियो ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी ९ समझदारीमा हस्ताक्षर भएको थियो ।