३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवीदेवता चोख्याएर माफी माग्दै द्यो स्वगं पूजा (सगुन जात्रा) सम्पन्न



अ+ अ-

भक्तपुर । बिस्केट जात्राको आठौँ दिन आज प्राचीन कालदेखि भक्तपुरमा चल्दै आएको द्यो स्वगं पूजा अर्थात सगुन जात्रा सम्पन्न भएको छ ।

बिस्केट जात्रा अवधिभर कुनै भूलचुक भएमा माफ गर भन्दै आज बिहानैदेखि भक्तपुरका बासिन्दाले धिमे बाजा, बाँसुरी बाजा बजाउँदै नगरका देवीदेवताका शक्तिपीठ पुगेर पूजा एवं दर्शन गरी सगुन चढाएर जात्रा मनाएका छन् ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर सांस्कृतिक मार्गबाट लामबद्ध भएर टोलटोलबाट जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न टोल टोलमा आआफ्ना द्यो छें (देवता घर) बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाउने परम्परा रहेको छ ।

बिस्केट जात्राका क्रममा विघ्न बाधा वा केही भूलचुक भए माफ पाऊँ भनी भक्तपुरभरि रहेका शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिइने संस्कृतकर्मी सुमनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिस्काः जात्राका क्रममा देवीदेवतालाई रथ, खटमा राखेर जात्रा गर्दा देवीदेवता अशुद्ध हुने मान्यताअनुरूप आजको दिन सगुन पूजा गरेर चोख्याइएको उहाँले बताउनुभयो ।

अष्टमातृकाअन्तर्गतका ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरव, भद्रकाली, बेताल, गणेश, मनकामना, भीमसेनलगायत नगरभित्रका ४३ देवदेवीलाई स्वगं अर्थात सगुन चढाउने प्रचलन छ । तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले दुई दिन चल्ने प्राचीन बिस्का जात्रालाई आठ दिन नौ रातसम्म मनाउने प्रचलन बसालेपछि द्यः स्वगं बियगु अर्थात सगुन जात्रा गर्ने चलन चलाएका हुन् । रासस