२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस १४औं महाधिवेशनः पार्टी नेतृत्वका लागि देखिएका १० आकांक्षी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको छ । संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा। शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन् ।

यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् । सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन् । यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन् । उनले बुधबार राजधानीले गरेको प्रश्नमा समेत आफू सभापतिमा उठ्ने बताए । ‘मेरो तयारी सभापतिमा नै हो, मेरै नाममा सहमति हुन्छ, त्यो प्रयास भइरहेको छ,’ नेता श्रेष्ठले भने । यसैगरी संस्थापन समूहकै नेता तथा उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि दाबी अघि सारी सकेका छन् ।

उनले सभापति देउवालाई भेटेरै आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको भन्दै सघाउन भनिसकेका छन् । उनले महामन्त्री शशांक कोइरालालाई समेत सहयोगका लागि आग्रह गरिसकेका छन् । ‘निधिजीले सभापतिलाई भेटेरै नेतृत्वका लागि सघाउन भनिसक्नुभएको छ, उहाँ अब सभापति देउवाको समर्थन लिने कोसिसमा हुनुहुन्छ । उहाँ अब पछि हट्ने उम्मेदवार होइन,’ निधि निकट एक नेताले भने । यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत पार्टी नेतृत्वका लागि आफू तयार रहेको सन्देश नेता कार्यकर्तालाई दिँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले समेत सभापतिमा आफूलाई अघि सारेका छन् । नेता सिंहले आफू देशभरको नेतकार्यकर्ताको चाहनाअनुसार नै पार्टी नेतृत्वका लागि अघि बढेको बताए । ‘देशभरका नेता कार्यकर्ता साथीहरूको राय र सुझावअनुसार मैले आफूलाई अघि बढाएको हुँ, पार्टीलाई नयाँ शैलीबाट अघि बढाउन र देशको नेतृत्व नै कांग्रेसको काँधमा ल्याउने गरी म अगाडि बढेको छु,’ कांग्रेस पूर्वमहामन्त्री सिंहले भने ।

संस्थापनइतर समूहबाटै हालका महामन्त्री डा. शशांकको समेत पार्टी नेतृत्वका लागि तयारी तीव्र छ । उनले पनि आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढिसकेको पटक पटक बताइसकेका छन् । यसैगरी नेता डा. शेखर कोइरालाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन् । उनी सकेसम्म इतर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउन प्रयासरत छन् । सो समूहबाटै नेता अर्जुननरसिंह केसीले समेत पार्टी नेतृत्वका लागि तयारी अघि बढाएका छन् । उनले पार्टीमा नेताभन्दा नीति र विधि विधानको पालनामा जोड दिँदै नेताकार्यकर्तालाई एकीकृत गर्दै अघि बढेका छन् । ‘मेरो प्राथमिकता र विचार भनेको नेताभन्दा नीति र विधि विधान प्रधान हो भन्ने हो, म त्यसैअनुसार आफूलाई अघि बढाउँदै हिँडेको छु । त्यहीअनुसार नेतृत्वका लागि मेरो तयारी छ,’ नेता केसीले भने ।

यसैगरी तेस्रो धारबाट नेता सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि तयार रहेको सन्देश पहिले नै दिइसकेका छन । उनले १३औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केही समयअघि भएको एक कार्यक्रममार्फत आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने बताएका थिए । सोही समूहबाट यूवा नेता गगन थापाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन् । उनले पार्टीलाई नयाँ रूप र जीवन दिन आफू तयार रहेको भन्दै विभिन्न कार्यक्रममार्फत सन्देश दिँदै आइरहेका छन् । राजधानी दैनिक