१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती



अ+ अ-

बाँके । बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ ।

चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरीब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले यो समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबारे सचेत गराउन प्रशासनले सार्वजनिक हितका लागि सूचना जारी गरेको छ । बाँकेका प्रजिअ कुमारबहादुर खड्काले न्यानो कपडा र आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिएको बताउनुभयो ।

‘‘नेपालगञ्ज, कोहलपुरलगायत जिल्लाका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ,” उहाँले भन्नुभयो । चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगञ्जका प्रमुख पलबहादुर विश्वकर्माले गत मङ्गलबारदेखि शीतलहर शुरु भएको बताउनुभयो ।

अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा जाडोको महसुस बढी भएको उहाँको भनाइ छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्कने गरेका छन् । नेपालगञ्ज–१९ का प्रमोद गिरीले चिसो हावा चलेर अत्यधिक ठण्डी बढेपछि घरबाहिर निस्कन नै नसकेको बताउनुभयो । “चिसोले काम गर्न जाँगर पनि चल्दैन”, उहाँले भन्नुभयो ।

चिसोले बिरामी, बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भएको छ । मुटु, श्वासप्रश्वास, बाथरोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले बताउनुभयो । उहाँले चिसोमा कोल्ड डाइरेरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीको समस्या बढी देखिने बताउनुभयो ।

डा पाण्डेले अस्पतालमा चिसोका बिरामी बढ्न थालेको बताउँदै भन्नुभयो, “बालबालिका र वृद्धवृद्धालाई न्यानो ठाउँमा राख्न एवं झोलिलो तथा तातो खान दिनुपर्छ ।” कोल्ड डाइरेरिया, निमोनिया, ज्वरो र रुघाखोकीले सताउने हुँदा चिसोबाट जोगिन डा पाण्डेले सुझाव दिनुभयो ।

शीतलहर शुरु भएसँगै डिभिजन वन कार्यालय, नेपालगञ्जले दाउरा वितरण शुरु गरेको छ । नेपालगञ्ज नगरका प्रत्येक परिवारलाई प्रतिकिलो रु सातका दरले एक क्विन्टल दाउरा प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा दाउरा वितरण गरिरहेको उहाँले बताउनुभयो ।