२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता गिरीले देउवा र पौडेललाई भने-‘भाँडभैलो नगर्नुस्, बाँडीचुँडी खानुस्’



अ+ अ-

काठमाडौँ । कांग्रेस नेता प्रदीप गिरीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले तीव्र आन्तरिक प्रतिस्पर्धा र ध्रुवीकरणले पार्टी कमजोर भएको टिप्पणी गरे ।

‘तपाईंहरू मर्नुहुन्न, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदजस्तै ९०/९५ वर्षसम्म रहनुहुन्छ । कसले के खाने ? के भाग लिने ? सल्लाह गर्नुहोस्,’ गिरीले कटाक्ष गर्दै भने, ‘ज्योतिषलाई देखाउने हो कि गोला हान्ने हो निर्णय गर्नुहोस्, मर्नुभन्दा पहिला प्रधानमन्त्री र पार्टी सभापति सबै चीज हुनुहुन्छ ।’

पार्टीको आगामी महाधिवेशनमा को सभापति बन्ने भनी प्रतिस्पर्धा चलिरहेका बेला गिरीले देउवा र पौडेलप्रति यस्तो व्यंग्य गरेका हुन् । ‘तपाईंहरू सभापति र प्रधानमन्त्री बन्ने होडमा पार्टीभित्र भाँडभैलो नगर्नुहोस्,’ उनको भनाइ थियो, ‘दुई जना बसेर सल्लाह गर्नुहोस्, पालैपिलो खानुहोस् ।’

पार्टी बलियो बनाउनेभन्दा आफ्नो वर्चस्व खोज्ने प्रवृत्तिले नयाँ पुस्ता कांग्रेसबाट टाढिन थालेको भन्दै अन्य नेताले पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् । नयाँ मतदातालाई आकर्षित गर्ने रणनीति र कार्यक्रम दिन नसक्दा पार्टी कमजोर बन्न थालेको उनीहरूको निष्कर्ष छ । समसामयिक राजनीतिक प्रस्तावमाथि जारी छलफलमा आइतबार पनि करिब एक दर्जन नेताले धारणा राखे । केन्द्रीय सदस्य महेश आचार्यले काउन्टर रणनीति अख्तियार गर्न नसक्दा पार्टीको भूमिका कमजोर बनेको बताए ।

उनले भदौ ३ गते बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिलाई कांग्रेसले किन काउन्टर प्रतिवाद गर्न नसकेको उनी प्रश्न गरेका थिए । राजावादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट राज्य प्रणालीमाथि नै संकट उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले संविधानका मूलभूत उपलब्धि रक्षा गर्न संविधान जारी गर्दाका शक्तिहरू एक ठाउँ उभिनुपर्ने धारणा राखेका थिए । ‘समसामयिक मुद्दाहरूमा तपाईं (देउवा) ले बोल्दा प्रेसमा प्राथमिकता पाउँछ । आम जनताले पनि सुन्छ,’ आचार्यको भनाइ थियो, ‘नेतृत्वले नबोलेपछि कांग्रेस कमजोर बनेको अनुभूति हुन जान्छ ।’

केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आउने उपनिर्वाचनलाई नेतृत्वबाटै ‘मिनी जनमत’ भनी घोषणा गरिएकामा आपत्ति प्रकट गरे । उनले अबका बीस महिना सबै नेता आफूभित्रै प्रतिस्पर्धा गर्न तम्सेको भन्दै बाहिरी प्रतिस्पर्धा पनि ख्याल गर्न सुझाए । ‘को सभापति हुने ? को महामन्त्री बन्ने ? हाम्रो पोजिसन के होला ? भन्ने दिशामा आन्तरिक प्रतिस्पर्धा हुनेवाला छ । बाहिर हेर्नेवाला केही छैन,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा मात्रै केन्द्रित हुने र बाहिरको ख्याल नराख्ने हो भने पार्टी कसरी बलियो हुन सक्छ ?’ गगन थापाले आगामी निर्वाचनमा थपिँदै गरेका ३५ लाखभन्दा बढी मतदातालाई सम्बोधन गर्ने कांग्रेसको नीति र कार्यक्रम खोइ भन्दै प्रश्न गरेका थिए । नयाँ मतदातालाई कांग्रेसप्रति जोड्न नयाँ नीति र कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य श्याम घिमिरेले ६० लाख युवालाई बाहिर राखेर मुलुकको आर्थिक सम्पन्नता खोज्न कठिनाइ हुने भन्दै कांग्रेसले आर्थिक मुद्दालाई अघि बढाउनुपर्ने बताए । ‘सरकारले भर्खरै पञ्चायतकालको अवशेषका रूपमा रहेको एनसीसीएनलाई ब्युँताउन लागेको छ । धमिजा काण्डदेखि वाइडबडी काण्डमा ठूला भ्रष्टाचार भएका छन् । भर्खरै सरकारले तीन सय बस खरिद गरेको खबर आएको छ,’ उनले भने, ‘सतहमा भ्रष्टाचारको कुरा गरेर मात्रै हुँदैन । जरोसम्मै अध्ययन गरेर कांग्रेसले आर्थिक भ्रष्टाचारको विषयलाई उठाउनुपर्छ, आर्थिक अनियमितताको विरोध गर्दा आफूभित्रैको आर्थिक अनुशासनलाई पनि कडाइसाथ लागू गर्नुपर्छ ।’, समाचर कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै