काठमाडौं । नेपाली चलचित्रका तीन पुस्ताका चर्चित नायकहरु एक सातासम्म कास्कीको नौ डाँडामा रहेको हिमालय देउराली रिसोर्टमा बसे । “सत्यम” चलचित्रलाई उत्कृष्ट बनाउने भन्दै एक सातासम्म कार्यशाला सहित बसेका चलचित्रकर्मीलाई फर्कदा भने एक साता बितेको पत्तै भएन । उनीहरुलाई यो समय निकै छोटो लाग्यो ।

नायक राजेश हमाल र पल शाहले रिसोर्ट सञ्चालक बिन्दा रायमाझीसँग “यो ठाउँ यति सुन्दर रहेछ एक साता बितेको त पत्तै भएन, फेरि छिट्टै आउछौं है” भन्दै विदा भए । हमाल, पल शाहसँगै अनुप विक्रम शाही, नायिका मलिका महत, किशान सुनार, सुशील पोखरेल, मिस्टर नेपाल सिजापति लगायत कलाकारहरु यहाँ निकै मोहित भए ।
दिनभर काममा जुटे पनि उनीहरु बिहान, दिउँसो र साँझ बाहिर निस्कदै छिनछिनमा फेरिइरहने प्राकृतिक दृश्यसँग लुकामारी गरिरहन्थे । यो ठाउँ प्रकृतिसँग लुकामारी गर्न पाउने अदभुत स्थल नै हो ।

चलचित्रकर्मीका यी प्रतिक्रिया रिसोर्ट सञ्चालक रायमाझीका लागि नौला होइनन् किनकी एक पटक यहाँ आइपुगेका कुनै पनि व्यक्तिले फर्कने बेला यस्तै भाव व्यक्त गर्छन् । नगरुन पनि किन ? खुकुरीको धारजस्तो टाकुरामा रहेको यो रिसोर्टले एकै नजरमा एकातिर पोखरालाई देखाउँछ र बुझाउँछ । एक भागतिर विशाल फेवाताल अर्काे भागबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण एकदेखि चारसम्म, अन्नपूर्ण साउथ, मार्दी हिमाल, लमजुङ हिमाल, मनास्लु, गौरीशंकर, हिमचुली लगायतका हिमालहरु देखिन्छ । हिमाल पनि थरिथरिका हेर्न पाइन्छ । बिहान उठ्दा टल्टली हिमालमा घामको झुल्को परेको देख्न पाइन्छ भने दिउँसो र साँझका फरक दृश्य उत्तिकै अनुपम हुन्छन् । स्वर्गीय आनन्दको अनुभूति यहाँबाट गर्न सकिन्छ ।
रिसोर्टले बनाएका कोठाका संरचनाहरु पनि अनौठा लाग्छन् । स्थानीय स्रोत र साधन तथा सीप प्रयोग गरेर यी कोठाहरु बनाइएको छ । चट्ट परेर कुँदिएका ढुङ्गा, मान्द्रो र स्थानीय काठको यति सुन्दर सम्मिश्रणबाट यी कोठाहरु बनेका छन् कि एक पटक पुग्नेहरु फेरि फेरि त्यहीँ पुग्छन् तर धित मर्दैन ।

पोखराको मुख्य बजारबाट २० किलोमिटरको दुरीमा रहेको यो रिसोर्टमा विभिन्न देशका राजदुतहरु पनि पुगिरहन्छन् । सञ्चालक रायमाझीले भन्नुभयो, “राजदुतहरु यहाँ आइपुग्दा त बालशुलभता जस्तो पो देखिएको । सूर्य उदाउँदै गर्दा त्यसको प्रकाश हिमालमा परेको दृश्यसँग माछापुच्छ्रेको छायाँ परेको फेवाताल एकै नजरमा देख्दा उनीहरु यति मोहित भए जहाँ बालशुलभता जस्तो देखियो ।”

यस रिसोर्टमा ६ वटा कटेज पनि छन् । हरेक कटेजमा चारवटा कक्ष बनाइएको छ । रिसोर्टमा १२ वटा डिलक्स र १२ वटा सुपर डिलक्स गरी २४ कक्ष छन् । जग्गाबाहेक यो रिसोर्ट बनाउन ५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ । यहाँबाट सूर्योदय र सूर्यास्त राम्रोसँग देख्न पनि सकिन्छ ।

रिसोर्टमा आउने अतिथिहरुका लागि भरसक स्थानीय स्वाद नै चखाउने गरिएको जानकारी गराउँदै सञ्चालक रायमाझीले भन्नुभयो, “रिसोर्ट क्षेत्रमा नै गाई तथा भैंसी पालन, तरकारी खेती, खसीबोका, कुखुरा, हाँस लगायत पन्छीको समेत पालिएको छ । शहरको कोलाहलबाट टाढा कार्यक्रम गर्न चाहनेका लागि यो आकर्षक गन्तव्य हो ।

यहाँ १५० जना अटाउन सक्ने सम्मेलन कक्षसँगै दुईवटा रेष्टुरेन्ट पनि छन् । यसै गरी याेगा, पदयात्रीहरुका लागि पदमार्ग, घोडचडीको समेत व्यवस्था गरिएको सञ्चालक रायमाझीले जानकारी दिनुभयो ।

स्वदेशी भन्दा बढी विदेशी पर्यटकहरुको रोजाईमा पर्ने गरेको हिमालय देउराली रिसोर्ट पुग्दा पुरै ग्रामीण परिवेशलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।











