९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन्ः प्रम देउवा



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गर्नुभएको छ ।

उहाँले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताउनुभएको छ । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो । यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज हामीले लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेका छौँ । उहाँले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आजको दिन जनतालाई  रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभएको छ । 

उहाँले प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।