नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीचको वार्ता सकिएको छ। राती सवा १० बजे प्रधानमन्त्री देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिनु भएन ।
सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा अमेरिकी सहयोग कार्यक्रम एमसीसी बारे सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नु भएको थियो ।
प्रधानमन्त्री देउवा सत्तारुढ दलको असहमतिका बीच एमसीसीलाई प्रतिनिधिसभाको भोलिको बैठकमा टेबुल गर्ने तयारीमा हुनुहुन्छ, तर संसद सचिवालयले निकालेको कार्यसूचीमा शुक्रबार एमसीसीलाई समेटिएको छैन । तर संसदको कार्यव्यवस्था समितिको बैठक भने बोलाइएको छ ।
दुई नेताबीचको झण्डै २ घण्टा भएको छलफलपछि एमालेका अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया दिनु भएको छैन । दुई नेताबीचको वार्ता भएसँगै बालकोटमा थुप्रै पत्रकार पुगेका थिए ।
सत्ता गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी दलले एमसीसीलाई अहिलेकै अवस्थामा पारित गर्न नहुने अडान राखेका छन् । त्यही कारण आज बिहीबारको सत्तारुढ घटकको बैठक विना निष्कर्ष समाप्त भएको थियो ।
सत्तारुढ दलहरुबीच सहमति नजुटे पछि निकै छटपटिमा रहनु भएका प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक सकेपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो । जानकारहरुका अनुसार प्रधानमन्त्री देउवा एमसीसीलाई सदनमा प्रवेश गराउन जुनसुकै राजनीतिक कदम चाल्न तत्पर रहनु भएको छ ।
श्री देउवा एमालेलाई मनाएर संसदमा एमसीसी पारित गराउन उद्यत हुनु भएको प्रतित हुन थालेको छ । पाँच दलीय गठबन्धनको बैठक भोलि १० बजेका लागि डाकिएको छ, तर त्यसमा सहमति नभए गठबन्धन सरकार भंग हुनेछ, र एमालेको समर्थनमा देउवाको एकल सरकार बन्नेछ ।












