२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द



अ+ अ-

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधैंका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधैंका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधैंका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् । तीन दशक लामो इतिहास बोकेको सिनेमा हल बन्द गर्नुपर्दा आफूलाई निकै दुःख लागेको बज्राचार्यले बताएका छन् । तर, सिनेमाको व्यापार कहिलेबाट सुरु हुने भन्ने निश्चित नरहेको र भाडा तिरेर हल राख्न सक्ने अवस्था नभएकै कारण यसलाई सधंैका लागि बन्द गर्नुको विकल्प नरहेको पनि बज्राचार्यको दुखेसो छ ।

कोरोना संक्रमणका कारण अनिश्चित भविष्य देखेरै काठमाडौं उपत्यकाका नौवटा सिनेमा हल बन्द गरिएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले राजधानीलाई बताएका छन् । प्रधानका अनुसार काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल पनि कोरोनाको महामारीपछि धमाधम बन्द भएका छन् ।

यसैगरी, मोफसलका १९ वटा सिनेमा हल भत्काइँदै छ । बिर्तामोडको कृष्ण टाँकिज, धुलावारीको तृष्ण हल, मोरङको सुकुना सिनेमा हल, विराटनगरको बाबा चलचित्र मन्दिर, धनकुटाको केटिवी सिनेमा हल, इनरुवाको कमल टाँकिज, जनकपुरको मिलन फिल्म हल र लवकुश फिल्म हल भत्काउन लागिएको हो ।

यस्तै, चितवन टाँडीको नारायणी चलचित्र मन्दिर, नवलपुरको गणपति चलचित्र मन्दिर, बर्दघाटको मोहिनी चलचित्र मन्दिर, कैलालीस्थित पहलवानपुरको सिनेमा हल, दाङस्थित लमहीको सिनेमा हल, तुलसीपुरस्थित बिष्णु टाँकिज, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बाग्लुङको कालिगण्डकी चलचित्र मन्दिर, नुवाकोटको त्रिशूलीमा रहेको सिनेमा हल र तनहुँको दमौलीमा रहेका उत्तरशिला हल, कुस्माको सिद्धेश्वर हल पनि बन्द भएको अध्यक्ष प्रधानले बताएका छन् ।

यी सबै सिनेमा हलले नेपाल चलचित्र संघ र चलचित्र विकास बोर्डमा पत्र पठाएर सधंैका लागि बन्द गरिएको जानकारी गराएका छन् । सरकारले सही नीति नल्याएको खण्डमा एक वर्षभित्र अझै अहिलेको भन्दा दोब्बर संख्यामा सिनेमा हल बन्द हुने अध्यक्ष प्रधानको भनाइ रहेको छ । यो आर्थिक वर्षमा सिनेमा हललाई विद्युत् शुल्क मिनाहा गर्ने घोषणा बजेटमा गरिए पनि अझै मिनाहा नगरिएको गुनासो अध्यक्ष प्रधानको रहेको छ ।

नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले कोरोना महामारीको अवस्था यसरी नै अझै केही वर्ष जाने हो भने सबै सिनेमा हल बन्द भएर भत्काउनुपर्ने अवस्था आउने बताए । कोरोनाको समयमा सबैभन्दा चाँडो बन्द हुने र सबैभन्दा ढिलो खुल्ने तर दर्शक नआउने व्यवसाय सिनेमा हल नै भएको पनि उनको कथन छ । सोही कारण नेपाली सिनेमा हलको भविष्य कोरोनाका कारण अनिश्चित रहेको उनले बताए । राजधानी दैनिक