२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः आसिफको शतक र सन्दीपको चार विकेटमा नेपालले पिएनजीलाई हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली नेपालले पहिलो खेलमै जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई ५२ रनले हराएको हो । नेपालले दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा अलआउट हुन पुग्यो ।

पिएनजीका लागि टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा नर्मन भनुआले पनि ५५ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले । उनी रनआउट हुन पुगेका हुन् । अशाद भालाले ५३ बलमा ४२ रन जोडे । यस्तै, किप्लिन दोरीगाले ३४ बलमा २६ रन तथा चाल्र्स अमिनीले ४३ बलमा १४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै २९७ रनको योगफल बनायो । यो नेपालले एक दिवसीय खेलमा बनाएको हालसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि २८७ रन बनाएको थियो ।

नेपालका सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले ११० बल खेल्दै उनले दुई छक्का र १२ चौका प्रहार गरे । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आसिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ नम्बरका खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

त्यस्तै आसिफले एकदिवसीय आफनो करिअरको एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

आजको खेलमा सुरुआती अर्का ब्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।

रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । यसैगरी भीम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडे । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिए झारे ।

नेपालले अब आइतबार यूएई, सोमबार पपुवा न्युगिनी र बिहीबार यूएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।

एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । यस्तै, ओडिआई मान्यता सोझै जोगाउन नेपालले अब तीन मध्ये एक खेल जित्नुपर्ने हुन्छ ।

यो नतिजासँगै नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । यूएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ भने पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ ।