काठमाडौं । नेकपा एमालेको आज बस्ने बैठकले माधव नेपाल र झलनाथ खनालपक्षका नेता तथा सांसदहरुलाइ थप कारबाही गर्ने भएको छ । केही बेरमा बालुवाटारमा बस्ने बैठकले सो कारबाही गर्न लागेको समाचार स्रोतले जानकारी दियो ।
समाचार स्रोतका अनुसार आजको बैठकको पहिलो एजेण्डा कर्णालीका सांसदहरुलाई पाटीृबाट निष्काषन गर्ने विषयमा रहेको छ । कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी भएको हो ।
अहिले केही बेरमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । सो बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।
नेकपा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका थिए । ती चारजनालाई भने भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनाइएको छ ।
त्यस्तै सो बैठकमा कर्णाली प्रदेशका ५ सहित संघीय संसदका समेत गरी ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारेमा पनि आवश्यक नीति तय हुनेछ । उनीहरुका स्पष्टिकरणहरु अध्ययन गरिने र आवश्यकताका आधारमा कारबाही गरिने भएको एकजना केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
बरिष्ठ नेता माधव कुमार नेपालसहितका संघीय सांसदले दिएको स्पष्टिकरणको जवाफ अध्ययन गर्ने र उनीहरुको स्पष्टीकरणका आधारमा नै थप कारबाही गरिने ती नेताले बताए ।
पछिल्लो समयमा एमालेमा एकले अर्काेलाई कारबाही गर्ने शृंखला नै चलेको छ । यसअघि वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही गरेको थियो ।












