काठमाडौँ । म्यान्मारमा नेपालीभाषी दम्पत्तिको सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् ।
भारतको सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको बताइएको छ । ती दम्पत्तिले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारीमा रहेको बताइएको छ ।
सेनाले गोली प्रहार गरेपछि उनीहरुलाई स्थानीय समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । मृतकहरुको एक छोरी र दुई छोरा थिए । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विरोध प्रदर्शन हरु हुँदै आएका छन् । जसमा सेनाको गोली लागेर हालसम्म थुप्रैप्रदर्शनकारी तथा स्थानीयहरुले ज्यान गुमाइसकेका छन् ।












