धनुषा । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेश सभाका ४ जना सदस्य पदमुक्त भएका छन् ।
नेकपा (माओवादी केन्द्र)ले चार जना प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेसँगै उहाँहरु पदमुक्त हुनुभएको हो ।
मण्डल धनुषा क्षेत्र नम्बर १को(ख) बाट निर्वाचित हुनुभएको हो भने कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख) बाट, ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३को (क)बाट निर्वाचित सांसद हुनुहुन्छ । मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद हुनुहुन्थ्यो ।
चारै जनाले दल त्याग गरेको पत्र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई बुझाएपछि उहाँहरु पदमुक्त हुनुभएको हो ।
चारै सांसदलाई २ दिनअघि २४ घण्टे स्पष्टीकरण सोधिएकोमा उहाँहरुले स्पष्टीकरण नदिएपछि बर्खास्त गरिएको बताइएको छ ।
प्रदेश २ मा नेकपा माओवादी केन्द्रमा ११ जना सांसद रहेकोमा ४ जना पदमुक्त भएसँगै अब ७ जना मात्रै सांसद रहनुभएको छ ।












