काठमाडौं । सांसद् इन्दुकुमारी शर्मा शर्माले कवितामार्फत अर्का सांसद महेश बस्नेतलाई जवाफ फर्काउनुभएको छ । यसअघि बसेको प्रतिनिधि सभाको बैठकमा सांसद महेश बस्नेतले कविता वाचन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्नुभएको थियो ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शर्माले कविता वाचन गर्दै महेश बस्नेततर्फ काउन्टर जवाफ दिनुभएको हो ।
यस्तो छ उहाँले सुनाउनुभएको कविताः
बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो
संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो ।
जनताको भोटले दुई तिहाइको सरकार बनाए
सनकको भरमा संसद् विघटन गराए
मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्
अझै पनि संसद् विघटन गर्ने दाउपेच बुन्दैछन्
संसद् विघटन ठीक हो भन्नेहरु लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्नेहरू
सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइ दिएको छ
संविधान र कानुनका पानाहरू पल्टाइ दिएको छ
बुझेर पनि बुझ पचाएका छन्, जनतालाई सित्तैमा सताएका छन्
नैतिकताको खडेरी परेको छ, इमान धरम मरेको छ
सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्
झूटा आश्वासन दिइ फेरि मधेशीलाई फसाउँदैछन्
विश्वासको मत लिने ठाउँमा अझै नाटक गर्दैछन्
संसद्लाई बिजनेस नदिएर भ्रमको खेती छर्दैछन्
बालुवाटारमा ककटेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौँ
सारा जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौँ












