काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर–२ खेल आज मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच हुँदैछ ।
खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ ।
यस खेलको विजेता टोलीले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ, जसले क्वालिफायर–१ जितेर फाइनलमा स्थान बनाइसकेको छ।
एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले क्वालिफायर–२ मा स्थान बनाएको हो भने बैंगलोरसँग हारेको पञ्जाबलाई फाइनल पुग्ने आज एक मौका छ ।
दुवै टोली प्लेअफमा पहिलो पटक आमनेसामने हुनेछन् । साथै, यी दुवै सिजनमा दोस्रो पटक एकअर्कासँग आमनेसामने हुनेछन् । पछिल्लो पटक पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो ।
आइपीएलमा अहिलेसम्म मुम्बई र पञ्जाबबीच ३३ खेल खेलिएका छन् । एमआईले १७ मा जित्दा पीबीकेएसले १६ खेल जितेको छ ।
सूर्य–रोहित उत्कृष्ट लयमा
यस सिजनमा एमआईका लागि सबैभन्दा धेरै रन बनाएका सूर्यकुमार यादव उत्कृष्ट लयमा छन् । उनको अहिले १५ खेलमा ६७३ रन छ । सूर्य कुनै पनि टी–२० लिगको एक सिजनमा सबैभन्दा धेरै २५ं प्लस स्कोर गर्ने खेलाडी हुन् । उनले यो उपलब्धि १५ पटक गरिसकेका छन् ।
अर्कोतर्फ ओपनर रोहित शर्माले अन्तिम खेलमा गुजरात विरुद्ध उत्कृष्ट ८१ रन बनाएका थिए । उनले आइपीएलमा आफ्नो ३०० छक्का पनि पूरा गरे ।
बलिङतर्फ ट्रेन्ट बोल्टले सुरुवाती ओभरहरूमा विकेट लिइरहेका छन् । हालसम्म उनले १५ खेलमा २१ विकेट लिएका छन् । उनको साथमा योर्कर विशेषज्ञ जसप्रीत बुमराह र मिचेल सान्टनर पनि छन् ।
पञ्जाबलाई श्रेयस अय्यरबाट आशा
पञ्जाबका कप्तान श्रेयस अय्यरले टोलीलाई ठूलो स्कोरमा पुर्याउने अपेक्षा गरिएको छ । क्वालिफायर १ मा बेंगलुरु विरुद्ध केवल एक रनमा अलआउट भएपछि अय्यरको टोली घरेलु मैदानमा पराजित भयो ।
ओपनर प्रभसिमरन सिंह टोलीका शीर्ष ब्याट्सम्यान हुन् । उनले १६७.८३ को स्ट्राइक रेटमा ५१७ रन बनाएका छन् । उनलाई साथ दिन प्रियांश आर्य पनि छन् ।
बायाँ हाते फास्ट बलर अर्शदीप सिंहले पञ्जाबका लागि प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका छन् । उनले अहिलेसम्म १५ खेलमा १८ विकेट लिएका छन् । चोटपछि युजवेन्द्र चहल यस खेलबाट पुनरागमन गर्न सक्छन् । अर्शदीप बाहेक, सुरुवाती ओभरहरूमा अजमतुल्लाह उमरजाईले पनि विकेट लिने अपेक्षा पञ्जाबले गरेको छ ।
कस्तो छ पिच ?
नरेन्द्र मोदी रंगशालाको पिच ब्याट्सम्यानको पक्षमा छ, तर स्पिन बलरहरूले पनि बीचको ओभरमा केही सहयोग पाउन सक्छन् । यस पिचमा २०० भन्दा माथिको स्कोरलाई लक्ष्य रक्षा गर्ने मानिनेछ । यस स्टेडियममा हालसम्म ४२ वटा आईपीएल खेलहरू खेलिएका छन् ।
यहाँ पहिले ब्याटिङ गर्ने टोलीले २१ खेल जितेको छ भने दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीले पनि २१ खेल जितेको छ । यहाँको उच्चतम टोली स्कोर २४३–५ हो, जुन यस सिजनमा पञ्जाब किंग्सले गुजरात टाइटन्स विरुद्ध बनाएको थियो ।
आइतबार अहमदाबादको मौसम धेरै गर्मी हुनेछ । घाम पनि निकै कडा हुनेछ । वर्षाको सम्भावना छैन । खेलको दिन यहाँको तापक्रम २८ देखि ३८ डिग्री सेल्सियस बीचमा रहन सक्छ ।











