काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्न संसदीय समितिलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाले सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा र भिजिट भिसा प्रकरणबारे गम्भीर छलफल भएको जानकारी दिएको छ । बैठकले उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको हो ।
यस्तै, विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, “सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको जनाएको छ । यसबारे यकिन गर्न प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।













