२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगष्टको पलेँटीमा सङ्गीतकार रामकृष्ण दुवाल



अ+ अ-

काठमाडौं: अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेंटीमा यस पटक पाको पुस्ताका साङ्गीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् । अगष्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख) आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन् ।

रामकृष्ण दुवाल लामो समयदेखि नेपालभाषाका परम्परागत सँस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन् । साथै दुवालले नेपालीभाषाका गीत-सङ्गीतमा गरेको योगदान पनि उत्तिकै प्रभावकारी छन् ।

किर्तिपुरका रैथाने रामकृष्ण दुवालले नेपालको राजनैतिक र सामाजिक परिवर्तनका निम्ति पनि गहकिलो योगदान पुर्‍याएका छन् । कवि गोपालप्रसाद रिमालको शब्द सृजना ‘एक जुगमा एकदिन एकचोटी आउँछ’लाई दुवालले नै धुन भरेका हुन् । यो गीतले नेपालको राजनैतिक आन्दोलनमा २०३६ सालदेखि यता अनवरत स्थान पाउँदै आएको छ ।

त्यस्तै नेपालभाषाको ‘सिर्सा या हेकू’ गीतलाई रामकृष्ण दुवालले सङ्कलन र परिमार्जन गरेका हुन् । यो गीतले नेवारसमुदायको मात्र नभएर नेपालका अन्य समुदायको पनि मन जित्दै आएकोछ । झण्डै चार दशक पहिले प्रसारणमा आएको यस गीतमा अनेकौं विद्यालयहरूमा नृत्य प्रस्तुत भएका छन् ।

 यसपालीको कार्यक्रम नेपालभाषा र नेपालीभाषाको साङ्गीतिक सङ्गम हुने कुरा पलेँटी संयोजन गर्दै आएका सङ्गीतकार आभासले जानकारी गराएका छन् । आभास भन्छन्- ‘दुवाल दाइ काठमाडौं उपत्यकाको साङ्गीतिक सभ्यताका जिउँदा सम्पदा हुन् । यिनको प्रतिभालाई पलेँटीमा समेट्न पाउँदा औधी खुशी लागेको छ ।’

 अगष्ट-पलेँटीमा नेपालभाषाका केही ऐतिहासिक रचनाहरू पनि सुन्न पाइनेछ । जसमा रणजित मल्लले काठमाडौं उपत्यका छोड्दा रचेको एउटा गीत पनि समावेस छ । सो गीत आफू काशी निर्वासनमा जानु पहिले रणजितले चन्द्रागिरीबाट उपत्यका हेर्दै रचेको किंवदन्ती छ । यस गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको पीडालाई समेटेका छन् । पलेँटी संचालकले नेपालभाषा नबुझ्नेका निम्ति यस्ता ऐतिहासिक रचनालाई नेपालीभाषामा पनि भावानुवाद गरिने कुरा जानकारी गराएका छन् ।

संयोजकका अनुसार यसपालीको पलेँटीमा केही बालगीतहरू पनि समेटिने छन् । रामकृष्ण दुवालसँग लामो समय विभिन्न विद्यालयहरूमा सङ्गीत र नृत्य सिकाएको अनुभव पनि छ । दुवालले बालबालिकाका निम्ति आफैँले रचेका गीतका साथै कवि दुर्गालाल श्रेष्ठका शब्दहरूमा पनि धुन भरेका छन् । यसका साथै सङ्गीतकार दुवालले छन्दकवितामा पनि धुन भरेका छन् । पलेँटीका निम्ति उनले पञ्चचामर र मन्दाक्रान्ता छन्द छनोट गरेका छन् ।

 धमाधम पलेँटीको तयारीमा रहेका सङ्गीतकार रामकृष्ण दुवाल निक्कै उत्साहित देखिन्छन् । आउँदो आफ्नो पलेँटीबारे दुवाल भन्छन्- ‘मैले जीवनमा अनेक मञ्चमा गाएँ, नाँचे तर यसपालीको पलेँटी मेरा निम्ति महत्वपूर्ण मञ्च हुनेछ । जसमा मलाई नयाँ पुस्ताका सङ्गीतकर्मीहरूले पनि साथ दिनेछन् । मेरो यो आनन्दको क्षणमा दर्शक, श्रोताहरूको माया र साथ पाउने विश्वास लिएको छु ।’   

 पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । 

पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।